पर्वतको बाँसखर्कबाट ४ करोडको सुन्तला विक्री

अर्थ/वाणिज्य समाचार

पर्वत, २० माघ


पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यो वर्ष करिव ४ करोडको सुन्तला विक्री गरेका छन् । अनुकुल मौसमका कारण यसवर्ष सुन्तला खेती फस्टाएको हुनाले किसानहरुले चालु वर्ष सुन्तला विक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यवसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई सय भन्दा बढि परिवारले सुन्तला विक्रीबाट गाउँमा ४ करोड भित्राएको बजारमारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले जानकारी दिए । बोटबाटै प्रतिकिलो १०५ देखि १२० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छौँ,’ खत्रीले भने, पोखरा, काठमाण्डौ, बुटवल लगायतका बजारमा माग बढि छ । माग पुरा गर्नै सकिएको छैन । उनले ढिलो गरि पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग बढि हुने गरेको सुनाए ।
बाँसखर्कमा अन्य खाद्यन्न र फलफुल उत्पादन हुँदैन । किसानहरुले धान, कोदो र मकै भन्दा सुन्तला खेतीले फाईदा हुने भएपछि सुन्तलालाई मूख्य आम्दानीको रुपमा लिँदै आएका छन् । दुई लाख रुपैयाँ भन्दा थोरै कमाउने कुनै घरै छैनन्,’ अगुवा ख्यामवहादुर खत्रीले भने, सुन्तलाको कमाईले बजारमा घरघडेरी नजोडेका निकै कम छन् । उनका अनुसार घरको आँगन समेत सुन्तलाका बोटले ढाकिएको छ ।
सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा हालै ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ । शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र बेसिजनमा विक्री गर्न सहज भएको स्थानीय कल्पना खत्रीले बताईन् । किसानहरुले गे्रडिङमा नपरेका साना दानाबाट जुस बनाएर पनि आम्दानी लिँदै आएका छन् ।
सुन्तलाका लागि उपयुक्त क्षेत्र भएकाले बाँसखर्कमा वर्षेनी क्षेत्रफल विस्तार हुँदै आएको छ । गतवर्ष सम्म १६१ परिवारले मात्रै व्यवसायिक सुन्तला खेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आवद्ध भएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिए ।
जिल्लामा कृषि ज्ञान केन्द्र र स्थानीय सरकारको सहकार्यमा जोन, व्लक र पकेट क्षेत्र घोषणा गरि सुन्तला खेतीको क्षेत्र बिस्तार गर्ने अभियान नै चलेको छ ।
कृषि ज्ञान केन्द्रले चालु वर्ष मात्रै करिव दुई सय हेक्टरमा खेती बिस्तार गरेको छ । जिल्लामा अघिल्लो वर्ष सम्म ८ सय हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएको थियो भने अहिले बिस्तार गरिएपछि सुन्तला उत्पादन हुने क्षेत्र एक हजार हेक्टर पुगेको रेग्मीले जानकारी दिए । चालु वर्ष देउपुर, बाजुङ, छाप, दुर्लुङ, बनौं, धाइरिङ, बाँसखर्क, माझफाँट, कुर्घा, लिमिठाना, ठानामौला, पाङराङ, बाच्छा, भोक्सिङ, होश्राङ्दी, उरामपोखरा, सरौंखोल र भोर्लेमा सुन्तलाको क्षेत्र बिस्तार भएको हो । कृषि केन्द्र प्रमुख रेग्मीका अनुसार चालु वर्ष ५४ हजार सुन्तलाका नयाँ बिरुवा रोपिएको छ । कृषि ज्ञान केन्द्रले व्लक र पकेट क्षेत्र १० ठाउँमा बिस्तार गरेको जनाएको छ ।
पछिल्ला केहि वर्षयता सुन्तला खेतीमा सुधार, रोगकिराको नियन्त्रण, क्षेत्रफल बिस्तार, आधुनिक उपकरण र अनुदानका कार्यक्रमहरु थपिंदै गएपछि क्षेत्र बिस्तार गर्न किसानहरु पनि जागरुक भएका छन् । ‘पहिला सबै घरले धान र कोदो मात्रै लगाउँथ्यौं,’ जलजला ८ का रामप्रसाद क्षेत्रीले भने, ‘ अहिले ४० जना मिलेर व्यवासयिक सुन्तला खेतीमा लागेका छौं ।’
गाउँमा सडक पुगेपछि किसानलाई ढुवानीका लागि कुनै समस्या छैन । देउपुरमा मात्रै यो वर्ष माछापुच्छ्रे्र सुन्तला सहकारी मार्फत डेढ करोडको सुन्तला बजार पुगेको कृषक दाताराम चापागाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *