पर्वत, ४ पुस
सुन्तलाको बजार राम्रो, उचित मौसम र वातवरण, गाउँमा मोटरवाटो पुगेपछि सुन्तला खेतीमा कृषकको आकर्षण बढ्दो छ । कृषि ज्ञान केन्द्र र स्थानीय सरकारको सहकार्यमा जोन, व्लक र पकेट क्षेत्र घोषणा गरि सुन्तला खेतीको क्षेत्र बिस्तार गर्ने अभियान नै चलेको छ ।
कृषि ज्ञान केन्द्रले चालु वर्ष मात्रै करिव दुई सय हेक्टरमा खेती बिस्तार गरेको छ । जिल्लामा अघिल्लो वर्ष सम्म ८ सय हेक्टर जमिनमा सुन्त
ला खेती हुँदै आएको थियो भने अहिले बिस्तार गरिएपछि सुन्तला उत्पादन हुने क्षेत्र एक हजार हेक्टर पुगेको कृषि ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मीले जानकारी दिए । चालु वर्ष देउपुर, बाजुङ, छाप, दुर्लुङ, बनौं, धाइरिङ, बाँसखर्क, माझफाँट, कुर्घा, लिमिठाना, ठानामौला, पाङराङ, बाच्छा, भोक्सिङ, होश्राङ्दी, उरामपोखरा, सरौंखोल र भोर्लेमा सुन्तलाको क्षेत्र बिस्तार भएको हो । कृषि केन्द्र प्रमुख रेग्मीका अनुसार चालु वर्ष ५४ हजार सुन्तलाका नयाँ बिरुवा रोपिएको छ । कृषि ज्ञान केन्द्रले व्लक र पकेट क्षेत्र १० ठाउँमा बिस्तार गरेको जनाएको छ । गतवर्ष मात्रै पर्वत, बागलुङ र म्याग्दीका ५२ वडा समेटेर सुन्तला सूपर जोन बिस्तार भएको थियो ।
सुन्तला उत्पादनका लागि पर्वत जिल्लाको भूगोल उपयुक्त छ । हिमाल तर्फ फर्किएको पहाडी मोहडा भएकाले उत्पादन राम्रो हुने कृषि विकास अधिकृत रामकृष्ण अर्यालले बताए । जिल्लामा गतवर्ष करिव ५ करोडको सुन्तला विक्री भएको थियो । चालु वर्ष कृषकले करिव साढे ६ करोडको सुन्तला विक्री गरेका अर्यालले जानकारी दिए ।
पछिल्ला केहि वर्षयता सुन्तला खेतीमा सुधार, रोगकिराको नियन्त्रण, क्षेत्रफल बिस्तार, आधुनिक उपकरण र अनुदानका कार्यक्रमहरु थपिंदै गएपछि क्षेत्र बिस्तार गर्न किसानहरु पनि जागरुक भएका छन् । पहिला सबै घरले धान र कोदो मात्रै लगाउथ्यौं, जलजला ८ का रामप्रसाद क्षेत्रीले भने, अहिले ४० जना मिलेर व्यवासयिक सुन्तला खेतीमा लागेका छौं । जलजला– १ बाँसखर्क स्थीत बजारमारे सुन्तला उत्पादन समुहका अध्यक्ष जगतबहादुर खत्रीका अनुसार एउटै वडाका डेढ सय परिवारले व्यवासयिक सुन्तला खेती गर्दैआएका छन् । यहाँ हामीले वर्षेनी तीन करोडको सुन्तला घरबाटै बेच्छौं, उनले भने, पहिला १०–१२ घरले मात्रै सुन्तला लगाउँथ्यौं । खेती विस्तार गर्दै अहिले सबै जसोका घरको मुख्य आम्दानीको स्रोत सुन्तला नै हो ।
गाउँमा सडक पुगेपछि किसानलाई ढुवानीका लागि कुनै समस्या छैन । वाँसखर्कमा सुन्तलाको जुस बनाउने उद्योग खुलेपछि धेरै भएको उत्पादन उद्योगले खरिद गर्छ । तर, कोल्ड स्टोर नहुँदा भने किसानले समस्या भोग्दै आएका छन् । कोल्ड स्टोर बनाउन सके दोब्बर आम्दानी हुनेथियो, देउपुरका अगुवा कृषक टिकाराम तिमिल्सीनाले भने,कोल्ड स्टोर नहुँदा बेसिजनमा बेच्न पाएका छैनौँ ।देउपुरमा मात्रै यो वर्ष माछापुच्छ्रे्र सुन्तला सहकारी मार्फत डेढ करोडको सुन्तला बजार पुगेको कृषक दाताराम चापागाईले जानकारी दिए ।