डाक्नेश्वरी नगरपालिकामा तालाबन्दी, टायर बालेर प्रदर्शन

समाचार

सप्तरी, ४ पुस


कार्यालयमा व्यापक भ्रष्टाचार भएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकामा युवाहरुद्वारा गरिएको तालाबन्दी छैंठो दिन पनि कायमै रहेको छ । अझैसम्म माग सम्बोधनमा चासो नदिएको भन्दै युवाहरुले पातो बजारमा टायर बालेर प्रर्दशन समेत गरेका छन् । भ्रष्टाचार बन्द गर, भ्रष्टाचारीलाई कारवाही गर लगायतका तीन बुँदे माग गर्दै आन्दोलन थालेको एक साता वित्न लाग्दा पनि माग सम्वोधनमा चासो नदिएको आक्रोश व्यक्त गर्दै युवाहरुले प्रर्दशन गरेका हुन् ।
नगरपालिकाको हरहिसाब सार्वजनिक गर्न तथा यस बीचमा किनिएका सामानहरुको विवरण तथा बिल समेत सार्वजनिक गर्न माग राख्दै नगरपालिकामा १० दिन अघि दिएको निवेदन उपर कुनै सुनुवाई नभएपछि उनीहरुहरुले मंसिर २९ गतेदेखि नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी गर्दा समेत आफुहरुका मागबारे नगरपालिकाले चासो नराखेको स्थानीय यूवा अरबिन्द कुमार मण्डलले बताए ।
नगरपालिकामा व्यापक आर्थिक अनियमितता हुनाका साथै कर्मचारी समेत समयमा नआएका कारण सेवाग्राहीले हैरानी भोग्नुपरेको अर्का यूवा प्रदिप यादवको भनाई छ । आर्थिक पारदर्शिताकालागि आर्थिक वर्ष २०७५/०७६ का्े महालेखापरीक्षकको प्रतिवेदन उपलब्ध गराउन तथा नगरपालिकाको जिन्सी मालसामानको विवरण तथा खरिद प्रक्रियाबारे जानकारी दिन, वडा कार्यालयहरुलाई उपलब्ध गराएको मोटरसाइकल खरिद प्रक्रियाको विवरण उपलब्ध गराउन सूचनाको हक प्रयोग गरी निवेदन दिँदा समेत कुनै सुनुवाई नगरिएको यूवाहरुको आरोप छ ।
उनीहरुले नगरपालिकामा भएको भ्रष्टाचारको छानबिनकोलागि उच्चस्तरीय छानबिन समिति गठन समेतको माग अघि सारेका छन् । ‘नगरपालिकाले ७ लाखको पनि काम नगरी २० लाखको बजेट खर्च गरेको छ’ स्थानीय कृष्णानन्द यादवले भने ‘निवेदन दिएर जानकारी माग्दा समेत सूचनाको हकलाई उल्लंघन गर्ने काम भएका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो ।’
यतिका दिनसम्म कार्यालय बन्द रहँदा समेत नगरपालिकाका मेयरसहितका जनप्रतिनिधीहरुले समस्याको निकासकालागि पहल नगरेको भन्दै आन्दोलनकारी यूवाहरुले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले नगरपालिकामा भईरहेको अनियमितता टुलुटुलु हेरेर बस्न नसकिने भन्दै माग पुरा गर्ने मामिलामा बेवास्ता भए थप कडा आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।नगर प्रमुख शिवनारायण साहले कार्यालयमा लगाइएको ताला खुलाउन युवाहरुसँग वार्ताको पहल भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *