१३ ‌औं सागमा उसुको तयारी , खेलाडीको खर्चमा पोसाक, पुरानो म्याटमा अभ्यास

खेलकूद समाचार स्वास्थ्य

काठमाडौं, १० मंसिर


१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदकको आशा गरिएको थोरै खेल मध्येको एक उसुको तयारीमा राष्ट्रिय खेलकुद परिषद् उदासिन देखिएको छ।सागको बन्द प्रशिक्षण सुरू हुँदा सुहाउँदो प्रशिक्षणस्थल नपाएका उसुका खेलाडीहरू अहिले अभ्यास सामग्रीको समस्या भोगिरहेका छन्। मंगलबार लगनखेलस्थित नेपाली सेनाको कबर्डहल पुग्दा उसुको थाउलो विधा (कला प्रदर्शन) का खेलाडी पुरानो म्याटमा अभ्यास गरिरहेका थिए।पुरानो म्याटमा प्रशिक्षण गर्दा खेलाडीको प्रदर्शनमा असर गर्ने थाउलो विधाका प्रशिक्षक प्रकाश लामाको भनाइ छ।अहिले हामीले अभ्यास गरिरहेको म्याट थाउलोका लागि अनुकूल छैन, लामाले सेतोपाटीसँग भने, यसले खेलाडीको प्रदर्शनमा समेत असर गर्छ।लामाका अनुसार तीन महिनाअघि सागको बन्द प्रशिक्षण सुरू हुँदा नै राष्ट्रिय खेलकुद परिषद्सँग म्याट माग गरिएको थियो।तर साग सुरू हुन ५ दिन बाँकी छँदासम्म म्याट आइपुगेको छैन। चीनको विसाङ कम्पनीले उत्पादन गर्ने म्याट मात्र थाउलोका लागि प्रयोग हुने गर्छ । कम्तीमा कात्तिक अन्तिमसम्म म्याट आएको भए खेलाडीलाई नयाँ म्याटमा खेल्ने बानी पर्थ्यो,लामाले भने, केही दिनमै म्याट आउँछ भनिएको छ, हेरौं के हुन्छ।नयाँ म्याट खरिदका लागि राष्ट्रिय खेलकुद परिषदले कात्तिक अन्तिम सातामात्र प्रक्रिया अघि बढाएको थियो। म्याट उपलब्ध नहुनु राज्यको दोष भएको उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ बताउँछन। यो राज्यको कमजोरी हो। महासंघले किन्न नसक्ने भएपछि हामीले तत्कालीन सदस्यसचिव केशवकुमार विष्टसँग २ वर्षअघि नै माग गरेका थियौं, उनले भने, त्यो उपलब्ध नभएपछि तीन महिनाअघि पनि भनेका थियौं। तर अझै आइपुगेन। नयाँ म्याट केही दिनमै आउने सदस्यसचिव रमेश सिलवाल र साग खेल सामग्री व्यवस्थापन समितिका संयोजक पुरेन्द्रविक्रम लाखेले जानकारी दिएको तामाङले बताए। उसुको थाउलोका लागि विशेष खालको पोसाक, लठ्ठी र तरबार चाहिन्छ।यी सबै सामग्री चीनबाट मगाउनु पर्छ। खेलकुद परिषद्‌ले समयमै थाउलोका सामग्री नमगाउँदा खेलाडी आफैंले किनेर चलाएका छन्।केही खेलाडी साथीहरूले स्टकबाट चलाउनु भएको छ। कतिपय खेलाडी साथीहरूले आफैं किन्नु भएको छ, महासंघका अध्यक्ष तामाङले सेतोपाटीसँग भने।सागअघि नै सामान आउँदैन कि भन्ने शंका छ। केहीगरि सामान आएन भने त्यो राज्यका लागि लाजको विषय हो, तामाङले भने। सन् २००६ मा भारतमा भएको १२ औं सागकी स्वर्ण विजेता निमा घर्ती खेल सामग्री र पोसाक आफैं किनेर अभ्यास गरिरहेको बताउँछिन्।पोसाक बाहिरबाट किन्दा एकदमै महँगो पर्ने भएकाले हामीले यहाँ नै सिलाएर लगाएका छौं निमाले भनिन्, हतियार विश्व च्याम्पियनसिपका लागि सांघाइ गएको बेला किनेका थियौं। पोसाक यहाँ सिलाउँदा एक जोरको कम्तीमा ६ हजार रुपैयाँ पर्ने निमाले बताइन्।चीनबाट मगाउँदा पोसाकको १० हजारभन्दा माथि पर्छ।यस्तै तरबार पनि १० हजार घटि पाइँदैन। तरबार नहुँदा केही खेलाडी काठको बनाएर समेत चलाएका छन्।
पोसाक र सामग्री किन्ने पैसा आफ्नै पकेटबाट हालिरहेका छौं। पछि फिर्ता त दिन्छु भन्नु भएको छ, निमाले भनिन्, संघको बजेट नै कम भएपछि आफैं किनेका हौं। प्रशिक्षक लामाले पनि खेलाडीले आफैं सामग्री किनेको बताए। घाइमा विश्व च्याम्पियनसिपमा खेल्न सामग्री र त्यसको बिल ल्याएमा खेलकुद परिषद्बाट रकम निकासा गर्छौं भनेका थियौं,लामाले भने, पोसाकका लागि भने खेलकुद परिषद्ले रकम निकासा गरिरसकेको छ ।१३औं उसुको प्रतिस्पर्धा लगनखेलस्थित कबर्डहलमा आगामी मंसिर १७ देखि सुरू हुँदैछ।
२२ स्वर्णका लागि प्रतिस्पर्धा हुने उसुमा एक देशले १७ विधामा मात्र भाग लिन पाउनेछ। त्यसैले उसु महासंघले मंगलबार बन्द प्रशिक्षणमा रहेका २२ मध्ये १७ खेलाडीको अन्तिम छनौट गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *