होटल बुकिङ गर्न ‘चिठ्ठी’

पर्यटन समाचार

ताप्लेजुङ, २५ कार्तिक


साहसिक पदयात्रा क्षेत्रकारुपमा चर्चित कञ्चनजंघा पदमार्गको चेराममा रहेको ‘होटेल ब्लु–सीप’का सञ्चालक दावा छिरिङले २९ असोजको साँझ एक विदेशी नागरिकले पठाएको चिठ्ठी पाए । चिठ्ठीमार्फत् आएको सन्देश थियो, १९ र २० अक्टोवरकालागि चार वटा कोठाको अग्रिम वुकिङ ।’ चेराम र यहाँ आसपासका अन्य हिमाली गोठ (बस्ती)हरुमा यसैगरि खबर आदान प्रदान गरिन्छ ।
पर्यटककालागि ‘पथ–प्रदर्शक’को काम गर्नेहरुले अग्रिम बुकिङका चिठ्ठी ओसार्छन् । दोहोर्याएर आउने विदेशी नागरिकहरु आफैँले पत्र पठाएर होटेल बुकिङ गर्छन् । होटेल सञ्चालक भोटे भन्छन्, विज्ञान र प्रविधिको दुनियाँमा रमाएकाहरु नै यहाँ आउँछन्, तर यहाँ त्यसको झल्को पनि छैन । उनले हिमाली गाउँ बस्ती र गोठहरुमा अहिले पनि चिठीबाटै काम चल्ने गरेको बताए । गाउँमा मोवाइल फोन चल्दैन, त्यसैले सूचना आदानप्रदानकालागि चिठ्ठीकै भर पर्नुपरेको छ, भोटेले भने ।
श्रीजंघा गाउँपालिका–८ मा रहेको चेराम गाउँ ३ हजार ९ सय मिटर उचाईमा पर्छ । चेराम र यहाँ आसपासका तारोङ्दिन र राम्जेर क्षेत्रमा सञ्चारका अन्य माध्यमहरुको पहुँच पुगेको छैन । यालुङ्खाङ गेष्ट हाउसकी पासाङ डोमा शेर्पाका अनुसार ‘गाउँवाट होटेलका रुम र खाना अग्रिम अर्डरकालागि चिठ्ठी आउने गरेका छन् । ‘व्यवसायिक प्रयोजनकालागि मात्रै हैन, घरायसी काम र आफन्तकालागि पनि चिठ्ठी पठाउने गर्छौँ, शेर्पा भन्छिन् ।
पर्यटकको सिजन सुरु भएपछि दैनिकजसो नयाँ–नयाँ मान्छेका नामबाट चिठ्ठी आइरहन्छन् । असोजदेखि मंसिरसम्म र चैतदेखि जेठसम्म पर्यटकले भरिभराउ हुने यस क्षेत्रमा चिठ्ठी पोष्ट गर्न हुलाक सेवा पनि छैन । तर, पदयात्रा गर्ने मानिसहरु र पर्यटन पथप्रदर्शकहरुबाटै चिठ्ठी आदानप्रदान हुने गरेको छ ।
यहाँभन्दा अझै धेरै दुर्गममा समेत टेलिफोन र इन्टरनेटको पहुँच पुगिसक्दा पनि आफुहरु कहाँ सम्बन्धित निकायले सेवा विस्तारमा चासो नदेखाएको स्थानीय गुनासो गर्छन् । मोवाइल र टेलिफोन सेवा उपलब्ध नहुँदा विशेष गरी पर्यटकहरु र स्थानीयलाई समेत असजिलो हुने गरेको होटेल व्यावसायी पासाङ र्शर्पाले बताए ।
नेपालको दोश्रो र विश्वकै तेश्रो अग्लो कञ्चनजंघा हिमाल (८५८६ मिटर) को आधार शिविर क्षेत्र सम्म पर्यटकको बाक्लो आवत्जावत् हुन्छ । पदमार्गको ३ हजार ५ सय मिटरभन्दा माथि चढेपछि टेलिफोनको सुविधा उपलब्ध छैन ।
कतिपय पदयात्रीले आफैँ सेटेलाईटजडित फोन ल्याउँछन्, त्यसबाहेक यहाँ फोनको सुविधा छैन, व्यवसायी शेर्पाले भने । कञ्चनजंघा आधार शिविर क्षेत्रका चेराम, तारोङ्दिन र राम्जेर क्षेत्रमा छ वटा होटल सञ्चालित छन् ।
बाह्र महिनामध्ये करिब सात महिना यहाँका डाँडाकाँडामा आन्तरिक र बाह्य पर्यटकको चहल पहल हुन्छ । बाँकी रहेको समयमा अत्यधिक चिसो हुने भएकाले यहाँका स्थानीयहरु नै तलतिर झर्छन् । यी क्षेत्रका अधिकांश गोठ र होटेलहरु याम्फुदिन गाउँबासीहरुले सन्चालन गरेका छन् । साहसिक पदयात्रा क्षेत्र मानिएको कञ्चनजंघा आधार शिविरसम्म सन्चारको पहुँच पु्यार्उन सके पर्यटन व्यवसाय झन् फष्टाएर जाने स्थानीय दावा शेर्पा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *