भलाक्चा–सोलावाङ जोड्ने पुल निर्माणमा अलपत्र

अर्थ/वाणिज्य समाचार

रुकुम, २५ कार्तिक


राप्ती लोकमार्ग अन्र्तगत पर्ने भलाक्चा–सोलावाङ जोड्ने पुल निर्माणमा अलपत्र बनेको छ । मुसीकोट नगरपालिका ४ र १२ वडा जोड्ने गरी साँख खोलामा सुरु गरिएको मोटरेबल पुल निर्माण ढिलाई भएको हो । पुल निर्माणको अवधि ९ महिना मात्र बाँकी रहदा काम रोकिएपछि यात्रुले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् ।
दुई वर्षमा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले पुल निर्माणको जिम्मा लिएको थियो । पुल निर्माणको आधाभन्दा बढी समयसमेत घर्किएको छ । तर कम्पनीको लापरबाहीले यात्रुले ठूलो जोखिम मोलिरहेका छन् । पुल निर्माणका लागि सडक विभागको वैदेशिक महाशाखा अन्तर्गतको आरएसडीपी परियोजनासँग सूर्यलाइट जेभीले सम्झौता गरेको छ । सम्झौता अनुसार २०७७ साउनभित्र पुल निर्माणको काम सम्पन्न हुने भनिएको थियो ।
राप्ती लोकमार्गमा पर्ने साँख खोलामा पक्की पुल निर्माण स्थल नजिकै बेलीब्रिज छ । २०६२ सालमा बनाइएको बेलीब्रिज जीर्ण बनेपछि त्यसको विकल्पमा पुल निर्माण गर्न लागिएको हो । तर पुल निर्माणको काम नहुँदा जोखिमयुक्त बेलीब्रिजबाटै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । बेलीब्रिज बिस्थापन गरी यात्रा सहज बनाउने भनिए पनि कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भइरहेको छ । स्थानीय लालबहादुर बिकले पुल निर्माणको काम लामो समयदेखि रोकिएको बताएका छन् ।
‘ठेकेदार कम्पनीले काम छाडेको लामो समय बित्दा समेत नियामक निकायले कुनै चासो नदेखाएको बताएको छ । ‘जीर्ण बेलीब्रिजका कारण सबै सवारी साधनले जोखिमपूर्ण तरिकारले खोला वारपार गरिरहेका छन् । बेलीब्रिज जीर्ण बनेर सवारी साधन आवत जावतमा जोखिम बढेपछि स्थानीयबाट मर्मत वा विस्थापन गर्नुपर्ने माग उठेको थियो । स्थानीयको मागपछि मर्मत गरिएको बेलीब्रिज १ वर्ष पनि नटिकेपछि सरोकारवालाको दबाबका कारण खोलामाथि पुल निर्माणको काम थालिएको हो ।
बेलीब्रिज जीर्ण बन्दा दैनिक सयौं सवारी साधन जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य रहेको सानोभेरी यातायात सेवा समितिका महासचिव बीरबहादुर मल्लले बताए ।
पुलमा राखिएका फलामका पाता टुक्रिएर झरेका छन् भने केही उप्किएका छन । जिल्ला भित्रिने र बाहिरिने गाडी जीर्ण पुल भएरै आउजाउ गर्छन् । विश्व बैंकको ८ करोड रुपैयाँ सहयोगमा साँख खोला सहित सल्यानको पटारेमा पुल निर्माण थालिएको हो । साँख खोलामा ३५ मिटर र पटारेमा १५ मिटर लामो पुल निर्माणको लागि ठेकेदार कम्पनी सूर्यलाइट जेभी कम्पनीले जिम्मा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *