लोभोल्टेज र ट्रिपिङका कारण उद्योग सञ्चालनमा समस्या

विशेष समाचार समाचार

विराटनगर, ३ कार्तिक


पूर्वक्षेत्रका उद्योगी ब्यवसायीहरुले स्वीचिङ र ट्रिपिङको समस्या समाधानगर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समक्ष माग गरेका छन् । उनीहरुले प्राधिकरणले आफ्ना उपभाक्तोलाई उपभोक्ताको रुपमा नहेरेको गुनासो समेत गरेका छन । पूर्व आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भो भोल्टेज र ट्रिपिङका कारण उद्योगीले ठूलो नोक्सानी व्यहोर्नु परेको बताए । “औद्योगिक क्षेत्रमा एकदमै लो भोल्टेज आउने गरेको छ । त्यसमाथि पनि विद्युत अप–डाउन हुँदा उद्योग सञ्चालनमै समस्या भएको छ,” अध्यक्ष घिमिरेले भने, “सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि अझैसम्म समस्या समाधान हुन सकेको छैन ।” मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा साना–ठूला गरी करिब ६ सय उद्योग सञ्चालनमा छन् । लोडसेडिङका कारण ८० भन्दा बढी उद्योग बन्द भइसकेका छन् । विगतमा यो क्षेत्रका उद्योगले दैनिक १८ घन्टासम्म लोडसेडिङ व्यहोरेका थिए । ट्रिपिङका कारण उद्योगको उत्पादनमा ह्रास, कच्चापदार्थ खेर जाने समस्या, मिल मेसिनरी बिग्रनु जस्ता कारणले उद्योग/व्यवसायीले थप आर्थिक भार बहन गर्नु परिरहेको घिमिरेको भनाइ छ । उनले घिमिरेले यस क्षेत्रको विद्युतको समस्या समाधानका लागि विद्युत प्राधिकरण गम्भीर नभएको गुनासोसमेत पोखे । कटैया–मुज्जफरपुरबाट प्राप्त विद्युत प्रदेश–१ लाई वितरण गर्न घिमिरेले मागसमेत गरे । उनले प्राधिकरणले आफ्ना उपभाक्तोलाई उपभोक्ताको रूपमा नहेरेको गुनासो पोखे । उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा पूर्वअध्यक्ष शिवशंकर अग्रवालले बैंकमार्फत विद्युत महसुल तिरे पनि सोही दिन प्राधिकरणले रसिद नकाट्दा जरिवाना तिनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने माग गरे । दैनिकजसो दिनको १० पटकभन्दा बढी लाइन आउने–जाने समस्याका कारण उद्योगीहरूले ठूलो समस्या झेल्नुपरेको संगठनका उपाध्यक्ष राकेश सुरानाले गुनासो गरे । उद्योगीहरूले उद्योग परिसरमा जडान गरेको ट्रान्सफर्मर बिग्रदा टेस्टिङका लागि हेटौडा लानु परिहेको बताउँदै विराटनगरमै टेस्टिङको व्यवस्था मिलाउन उनको माग थियो । मोरङ व्यापार संघका कार्यबाहक अध्यक्ष नविन रिजालले नगरक्षेत्रमा रहेका विद्युतसम्बन्धी समस्या समाधान गरेर आफ्नो नामको मान स्थापित गर्न घिसिङसमक्ष आग्रह गरे । “विद्युत समस्याबाट उद्योगीहरू आजित भएका छन्,” उनले थपे, “विगतमा लोडसेडिङ हुँदाझैं उद्योगीले तनाव व्यहोर्नु परिरहेको छ अहिले पनि ।” संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडाले विद्युत समस्या समाधान नभएसम्म उत्पादन वृद्धि हुन नसक्ने बताए । विद्युत समस्या समाधान नभए व्यापार घाटा झनै चुलिँदै जाने उनको कथन थियो । “उत्पादन वृद्धि गर्न विद्युत समस्या समाधान हुनुपर्छ,” उनले थपे, “आन्तरिक उत्पादन नबढेसम्म व्यापार घाटा कम हुँदैन ।” संगठनका वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेलले प्राधिकरणको विद्युतसँग सम्बधित आगामी पाँचवर्षे योजना सार्वजनिक गरे उद्योग व्यवसायमा थप लगानी बढ्ने बताए । संगठनका उपाध्यक्ष राजकुमार गोल्छाले विद्युत वितरण प्रणालीमा थुप्रै कमीकमजोरी रहेको बताउँदै तत्काल सुधार गर्न आग्रह गरे । कार्यक्रममा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुशिल धनावत, अशोक मुरारकालगायतले विद्युत समस्या समाधान नभएसम्म लगानीको वातावरण बन्न नसक्ने दाबी गरे ।
दुई वर्षभित्र सबै समस्या समाधान हुन्छ : घिसिङ
उद्योगी व्यवसायीका गुनासो सुनिसकेपछि कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्षभित्र विद्युतसँग सम्बन्धित सबै समस्या समाधान हुने बताए । उनले प्रदेश–१ का लागि ट्रान्समिसन लाइन बन्ने क्रममा रहेकाले छिटोमा एक वर्ष र ढिलोमा दुई वर्षभित्र पूर्वमा विद्युत समस्या समाधान हुने उनको दाबी थियो । “तीन वर्षअघि र हालको समस्या फरक रहेकाले प्राधिकरण आन्तरिक सुधारमा लागि परेको छ,” घिसिङले भने, “विद्युत प्राधिकरणले सिस्टमलाई विश्वसनीय र गुणस्तरीय सुधार गर्नु चुनौती रहे पनि त्यसतर्फ हामी कटिबद्ध भएर लागेका छौं । ढुक्क हुनुहोस् दुई वर्षभित्रै सबै समस्या समाधान हुन्छ ।” घिसिङले लोड र आपूर्तिबीच सामान्यजस्यता नभएकाले ट्रिपिङ, लोभोल्टेजलगायतको समस्या आउने गरेको बताए । प्राधिकरणको ग्रिडमा विद्युत थप हुने क्रम जारी रहेकाले समस्याहरू सुधार हुदै जानेमा ढुक्क हुन उद्योगी व्यवसायीलाई उनले आग्रहसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *