‘गरिमा’ धानले फल नदिदा किसानहरु चिन्तित

अर्थ/वाणिज्य समाचार

दाङ, ३ कार्तिक


सरकारले नै सूचिकृत गरेको धान समय वित्तिसक्दासम्म पनि नफल्दा दाङका किसानहरु चिन्तित भएका छन् । धानवालीका लागि जिल्लाकै उर्वर भूमि मानिने देउखुरी क्षेत्रमा लगाएको ‘गरिमा’ जातको धानले अहिलेसम्म पनि फल नदिदा किसानहरु चिन्तित भएका हुन् ।
‘एक सय २० दिनमा पाक्छ भनेर लगाएको धान हो अहिलेसम्म पनि बाला फालेको छैन’, देउखुरी मजगाउँका किसान गुरुप्रसाद चौधरीले भने, ‘अहिले हुने खेती भएन हेर्ने खती मात्रै भएको छ ।’
उनले यो जातको धान करीव ११ कट्ठामा लगाएका थिए । १२०–१३० दिनसम्म पाक्नुपर्ने धान अहिलेसम्म बाला समेत फालेको छैन । लगाएको झण्डै तीन महिना वितिसक्दा समेत गरिमा धानले फल नदिएपछि त्यहाँका किसानहरु अत्यन्त चिन्तित भएका छन् । चौधरीको मात्रै होइन त्यस क्षेत्रमा करीव ८० विगाहमा लगाएको यो जातको धानले अहिलेसम्म फल दिएको छैन ।
यहाँका किसानहरुले यसवर्ष मात्रै होइन विगतका वर्षहरुमा पनि यो जातको धान लगाएको थिए । विगतका वर्षहरुमा १३० देखि १३५ दिनभित्रमा यो धान भित्रयाइ सकिएको किसनाहरुको भनाइ छ । तर यसवर्ष धानले बाला दिएको छैन ।
विगतका वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा गरिमा जातको धान लगाउने गरेको र राम्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र घोराही दाङका सूचना अधिकृत जीवनकुमार ओलीले बताए । ‘गरिमा जातको धान नै नराम्रो भन्न मिल्दैन’, उनले भने, ‘यसको विउमै केही खरावी हुनसक्छ यसलाई हामीले अनुसन्धान गरिरहेका छौं ।’
उनका अनुसार यो जातको धानले ९० दिनभित्रमा फल दिने भएकाले अब फल लाग्ने सम्भवना कम छ । यसवर्ष यस्तो समस्या लमही नगरपालिका वडा नं. ३ र ४ का विभिन्न क्षेत्रमा किसानहरुले लगाएको गरिमा धानमा देखिएको छ । विगतका वर्षहरुमा राम्रो फल्ने गरेपनि यसवर्ष वाला नै नदिएपछि किसानहरुले धानको विउमै शंका गरेका छन् । सो क्षेत्रमा स्थानीय सनराइज एग्रीकल्चर रिसर्च सेन्टरले विउ वितरण गरेको थियो । दाङमा यसवर्ष ३६ हजार ९ सय ५५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *