तलब नपाएपछि बीपी क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित, बोर्ड सदस्य नियुक्तिमा किन ढिलाई?

विशेष समाचार समाचार स्वास्थ्य
 न्यूज अपडेट संवाददाता
काठमाडाैं, २० असार

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। तीन महिनादेखिको तलब खान नपाएको भन्दै स्वास्थ्यकर्मीसहितका कर्मचारीले आज बुधबार अस्पताल प्रशासनमा घेराउ गरेका छन्।

अस्पताल सञ्चालक समिति नियुक्ति नहुँदा अस्पतालका कार्यकारी निर्देशक नियुक्तिको बाटो समेत रोकिएको छ। जसका कारण अस्पतालमा कर्मचारीले तलब नपाउनुका साथै औषधि लगायतका अत्वाश्यक सामग्री खरिदको काम समेत रोकिएको छ। कर्मचारीले वैशाखदेखि तलब नपाउनुका साथै अन्य कामकाजमा समेत असर गरेको भन्दै विरोधस्वरुप बुधबार अस्पतालमा धर्ना दिएका हुन्।

उनीहरुले छिटोभन्दा छिटो अस्पताल सञ्चालक समिति सदस्य नियुक्ति गर्दै कार्यकारी निर्देशकको नियुक्ति गर्दै समस्या समाधान गर्न माग गरेका छन्।  ‘अस्पतालमा तीन महिनादेखि कार्यकारी निर्देशक नहुँदा बिरामीले पाउने नियमित सेवा र सुविधा घट्दै गएको छ। आर्थिक वर्षको मसान्तमा भुक्तानी र खरिदका काम रोकिएका छन्। तीन महिनादेखि कर्मचारीले तलब पाउन सकेका छैनन्,’ अस्पतालमा एक कर्मचारीले भने, ‘छिटोभन्दा छिटो बोर्ड सदस्य नियुक्ति गर्दै यहाँको समस्या समाधान हुनुपर्छ। होइन भने हामी थप आन्दोलनका कार्यक्रम अगाडि सार्छौं।’

बोर्ड सदस्य नियुक्तिमा किन ढिलाई? 
अस्पतालको सञ्चालक समिति (बोर्ड) सदस्य नियुक्तिको प्रक्रियामा अगाडि बढे पनि लामो समयदेखि फाइल भने रोकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रिक्त रहेको ६ जनाको पदमा नियुक्तिका लागि पठाएको नामसहितको फाइल प्रधानमन्त्री  कार्यालयमा लामो समयदेखि रोकिएको हो।

नियुक्तिको फाइल रोकिएपछि अस्पतालमा दैनिक कामकाज प्रभावित हुनुका साथै बिरामीका लागि आवश्यक पर्ने औषधि खरिददेखि कर्मचारीको तलब समेत रोकिन पुगेको कर्मचारीहरुको गुनासो छ।

अस्पतालका चिकित्सक र कर्मचारीले स्वास्थ्य मन्त्रालयमा छिटो सञ्चालक समिति सदस्य नियुक्त गर्दै निर्देशक नियुक्तिको बाटो खुलाउन आग्रह गरेका छन्। अस्पतालका तर्फबाट आएका एक टोलीले स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेट गर्दै कर्मचारीको समस्याका विषयमा जानकारी गराएका छन्। मन्त्री बस्नेतसँगको भेटका क्रममा उनीहरुले बोर्ड सदस्यदेखि अस्पताल निर्देशकको नियुक्तिका विषयमा प्रश्न सोधेका थिए। सो क्रममा मन्त्री बस्नेतले मन्त्रिपरिषदमा फाइल गइसकेकाले छिटो उक्त विषय टुंगिने जानकारी दिएका थिए।

‘मन्त्रालयले नामावली पठाएको एक महिनाभन्दा बढी भइसकेको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘तर प्रधानमन्त्रीकोमा पुगेको उक्त फाइल लामो समयदेखि अड्किएको छ।’

ती अधिकारीका अनुसार प्रधानमन्त्री दाहालसहित माओवादी निकट स्वास्थ्यकर्मीहरुले अस्पतालको बोर्ड सदस्यामा आफ्ना पार्टी निकटका सदस्य थप गर्न फाइल अड्काएर राखेका हुन्।

प्रधानमन्त्री दाहालले गत चैतमा नै अस्पतालमा अध्यक्ष नियुक्त गरिसकेका छन्। स्वास्थ्यमन्त्री नियुक्त हुनुभन्दा केही समयअघि अध्यक्षमा डा विजय न्यौपाने नियुक्त भइसकेका छन्। अध्यक्षमा माओवादी निकट चिकित्सक नियुक्त भइसकेकाले कार्यकारी निर्देशकमा कांग्रेसले दाबी गर्दै आइरहेको छ।

अस्पतालको १४ सदस्यीय रहने सञ्चालक समितिमा ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था रहेको छ। सोही अनुसार मन्त्री बस्नेतले नामावली पठाइसकेका छन्। तर नियुक्ति भने भइसकेको छैन। यस्तै भरतपुर महानगरपालिकाको प्रमुख, स्वास्थ्य मन्त्रालयको सचिव वा सचिवले तोकेको व्यक्ति, अर्थ सचिव वा अर्थसचिवले तोकेको व्यक्ति, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था छ। यसैगरी, समितिले दुई जना नियुक्त गर्ने व्यवस्था रहेको छ।

सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस उपसमिति गठन गर्ने व्यवस्था छ। उक्त उपसमितिले सिफारिस गरेका व्यक्तिमध्येबाट सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्त गर्ने छ। समितिले नै पूर्णता पाउन नसकेपछि कार्यकारी निर्देशक पदसमेत रिक्त हुन पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *