भक्तपुर, १ कार्तिक
भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा भएको स्थानीय पथ प्रदर्शकहरुको भेला कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाले बनाएको १५ बुँदे पथप्रदर्शक कार्यविधि शुक्रबारदेखि लागू हुने बताए ।
प्रमुख प्रजापतिले भक्तपुरका पथप्रदर्शकहरुले अलग पहिचान कायम गर्ने ढंगले इमान्दारीपूर्वक काम गर्न र देशभरीकै लागि नमूनाको रुपमा प्रस्तुत हुन पथप्रदर्शकलाई आग्रह गर्दै पथप्रदर्शकहरुले भक्तपुरलाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन सहयोगी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न भक्तपुर महोत्सवलाई भव्य रुपमा मनाउने सोचका साथ नगरपालिका अगाडि बढिरहेको बताए ।
भनपाका उपप्रमुख रजनी जोशीले सम्पदाको नगर भक्तपुरलाई हरेक क्षेत्रमा नमुना नगरको रुपमा विकास गरी भक्तपुर नपालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्य नपाले बोकेको बताए । उनले भक्तपुरलाई सम्पदाको सहरको रुपमा ब्याख्या गरे ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सविन प्रधानले भक्तपुरमा पथप्रदर्शकहरुले खेलिरहेको भूमिका प्रशंसनीय भएको बताउदै पर्यटकहरुलाई भक्तपुरमा सुरक्षित गराउने जिम्मा पनि पथप्रदर्शककै भएको बताए ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न भक्तपुर नगरपालिकाले गरिरहेको तयारीबारे जानकारी गराउदै भक्तपुरको विशेषताहरुबारेमा पथप्रदर्शकहरुले सही ढंगबाट सूचना सम्प्रेषण गर्नुहुन आग्रह गरे ।
भक्तपुर सेवा केन्द्र तथा सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले नगरपालिकाले लागू गरेको कार्यविधि र आचारसंहितालाई अक्षरस पालना गर्न अनुरोध गर्दै पथप्रदर्शकहरु अपराधिक गतिविधिहरुबाट जोगिन सचेत गरे ।
कार्यक्रममा टुर्गानका अध्यक्ष केदार तामाङ्ग, चिनियाँ पथप्रदर्शकका अध्यक्ष निसान प्रधान, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले र पर्यटन सूचना केन्द्रका मुरज दिदियाले पनि आ–आफ्नो धारणा व्यक्त गरे ।
भक्तपुर नगरपालिकाले स्थानीय पथप्रदर्शकलाई लाइसेन्ससँगै नम्बर लेखिएको ब्याच र पोशाकको व्यवस्था गरेको छ । उनीहरुलाई पोशाकको रुपमा आकाशे नीलो सर्ट, गाढा नीलो पाइन्ट र खरानी रंगको कोटको व्यवस्था गरेको छ ।