रु.३ करोडको भवन बजेट अभाबले अलपत्र

अर्थ/वाणिज्य समाचार

नेपालगञ्ज, २४ पुस


बाँकेको कोहलपुर उद्योग बाणिज्य संघले निर्माण गर्न लागेको बजेट अभावले अलपत्र परेको छ । बजेट अभाव हुँदा निर्माणको काम चार महिनादेखि ठप्प हुँदा भवन निर्माण अलपत्र परेको हो । निर्माणको काम हुन नसक्दा यसका लागि ढुवानी गरिएका निर्माण सामग्री संघको खाली मैदानमा छरपस्ट छन् । संघले यसअघि लगाएको मेला, महोत्सवबाट संकलित रकमबाट भवन निर्माणको थालनी गरिएको थियो । रकम अभाव हुँदा निर्माणको काम अलपत्र परेको कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी बताए ।
संघले बहुउद्देश्यीय भवन निर्माण गर्ने योजना अघि बढाएका हो । वस्तुगत संघहरूलाई समेत स्थान उपलब्ध गराउने सभाकक्ष सहितको भवन निर्माणका लागि संघले आर्थिक बर्ष ०७५।०७६ को असोज मसान्तमा शिलान्यास गरेको थियो । तीन करोड ६२ लाखमा निर्माण गर्ने भनिएको भवनको अहिले डिपिसी मात्र गरिएको छ । साढे तीन तला निर्माण हुने भवन आर्थिक अभावकै कारण डिपिसी भन्दा माथि उठ्न नसकेको भवन निर्माण समितिका संयोजक नमप्रसाद शर्मा जानकारी दिए । भवन निर्माणका लागि ५५ लाख बजेट खर्च भएको छ । संघले २०७४ सालमा लगाएको महोत्सवबाट संकलित ६३ लाखमध्येबाट भवन निर्माणका लागि डिपिसी तयार गर्दासम्म ५५ लाख खर्च भएको हो । भौतिक संरचना निर्माणका लागि रकम संकलनको एक मात्र माध्यम मेला, महोत्सव भएको र अहिले संघले मेला महोत्सवको आयोजना नगरेको कारण पनि निर्माणमा आर्थिक अभाव देखिएको हो ।
तीन वर्षमा निर्माण पुरा गरिसक्नुपर्ने भवन निर्माणपछि उद्योगी व्यवसायीलाई मात्रै नभई सरकारी तथा गैरसरकारी निकायलाई समेत विविध कार्यक्रम, सेमिनार, गोष्ठि, बैठक तथा सभा गर्न समेत सहज हुने भएको छ । बहुउद्देश्यीय भवन लिफ्टसहितको सुविधा सम्पन्न हुने संघका अध्यक्ष अधिकारी बताए । र कोहलपुरमा एउटा भरपर्दो र उपयुक्त सभा हल नभएकोले संघको भवन निर्माण पछि अत्याधुनिक र सम्पन्न सभाहल समेत यहि हुने संघका पदाधिकारी दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *