पर्वत, २९ असोज
पर्वतको कुश्मामा चार यूवाले दूध डेरी उद्योग सञ्चालन गरेका छन् । कुश्मा नगरपालिका– ७ खरेयामा यहाँका यूवाले मोदीकाली दूध डेरी उद्योग सञ्चालन गरेका हुन् । उद्योगमा यूवाको डेढ करोड लगानी छ । दैनिक १२/१५ लिटर दूध संकलन हुन्छ ।
दूध उद्योग खोल्ने यूवाहरु बागलुङको जैमिनी नगरपालिका १ कुश्मिशेराका दिनानाथ शर्मा, जैमिनी ८ छिस्तीका सूर्यप्रसाद शर्मा, जलजला ८ नाग्लीवाङका माधव सुबेदी र कुश्मा नगरपालिका ३ दुर्लुङका हरिप्रसाद सुबेदी हुन् । चार जनाले २०७५ कार्तिक ८ गतेबाट शुरु गरेका हुन् । चारजनाको साझेदारीमा सञ्चालन भएको उद्योगमा संकलन र प्रसोधन भएको दूध पर्वत, बागलुङ र म्याग्दीको बेनीबजारमा विक्री हुँदै आएको छ । उद्योग सञ्चालन गरेका यूवा बिदेश गएर फर्किएका र मार्केटिङको काम गरेका हुन् । ‘ आठ वर्ष सम्म हेटौँडा डेरीको मार्केटिङको कारोवार गर्थेँ,’ उद्योगका सञ्चालक दिनानाथ शर्माले भने,‘ पर्वतमा उक्त डेरीबाट दुई करोडको दूध र दहि विक्री हुन्थ्यो । दूध र दहिबाट राम्रो आम्दानी हुने अनुभव पछि आँफै उद्योग खोल्ने सोचेर लगानी गरेँ ।’ उनले आफैँले उद्योग सञ्चालन गरेपछि बाहिरी जिल्लाबाट आउने दूध र दूधजन्य पद्धार्थ रोकिएको बताए । दिनानाथ जस्तै ५ वर्ष सम्म हरि सुबेदीले फिस्टेल डेरी उद्योगका उत्पादनको मार्केटिङ गरे । अरुको उद्योगमा काम गर्नुभन्दा आफैँ सञ्चालन गर्ने सोचेर जिल्लाभित्रै उद्योग सञ्चालन गरेको सुबेदीले बताए । ‘ऋण खोजेर लगानी गरेको हुँ,’ सुबेदीले भने,‘ उद्योगले लगानी अनुसारको प्रतिफल दिईरहेको छ ।’
गाउँको दुध संकलनका लागि अर्मादी, ज्ञादी र दुर्लुङमा एउटा र जैमिनीमा ४ ठाउँमा डिपो सञ्चालन गरिएको छ । किसानदेखि उद्योग सम्म प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३ सय जनालाई उद्योगले रोजगारी दिएको सञ्चालक सूर्यप्रसाद शर्माले बताए । ‘ यो उद्योगमा संकलन हुने दूध ८० प्रतिशत भैसीको हुन्छ,’ शर्माले भने,‘ ग्रामीण क्षेत्रमा संकलन हुने भएकाले प्राय भैँसीकै दूध आउँछ ।’ शर्माका अनुसार गाईको भन्दा बजारमा भैँसीको दूधको माग बढि छ ।
उद्योगमा दक्ष र अदक्ष गरि ५ जना कामदार छन् । एक जना रामेछापका जनक खत्री बाहेक अरु सबै स्थानीय यूवाले रोजगारी पाएका छन् । उद्योगमा काम पाएका कामदारले १० हजार देखि २२ हजार सम्म तलव पाउँछन् । उद्योगमा काम गर्दै आएका यूवा जनक खत्रीले देशभित्रै काम गर्ने अवसर पाएकोमा खुशी छन् । ‘ मलेसियामा गएर मैले यस्तै उद्योगमा काम गर्ने अवसर पाएको थिएँ,’ खत्रीले भने,‘ बिदेश छोडेर अहिले यो उद्योगमा काम गर्दा खुशी छु । कमाई बिदेशको भन्दा केहि कमी भएपनि आत्मासन्तुष्टि मिलेको खत्रीले बताए ।
उक्त उद्योगले हालै प्रदेश सरकार मार्फत १० लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । अनुदान प्राप्त रकमबाट उद्योगमा एनलाईनर मेशिन, चिलिङ भ्याट, १२ वटा आल्मूनियम क्यान, एउटा बटर चर्नर खरिद गरिएको छ । उद्योग खोलेका यूवाहरु आम्दानीबाट सन्तुष्ट छन् । लामो समय सम्म मार्केटिङमा काम गरेका यूवाहरु अहिले श्रमिकबाट मालिक बनेकोमा खुशी छन् । लगानी अनुसार दूधबाट आम्दानी पनि राम्रो छ । दूधको माग बजारमा धेरै छ । सिजनको बेला दूध पु¥याउनै समस्या हुने गरेको उद्यमी यूवाहरुले बताए । दूध सहित घिउ, पनिर र दूधबाट क्रिम बनाएर पनि उद्योगले बिक्री गर्दैै आएको उद्योग सञ्चालक समितिका अध्यक्ष दिनानाथ शर्माले बताए । उद्योगले दूध र दुग्ध पदार्थ आफैँ प्याकेजिङ, लेवलिङ र प्रसोधन गरेर बजारमा पठाउने गरेको छ ।
दूधको उचित मुल्य नपाउने गरेका किसान उद्योग सञ्चालन भएपछि लिटरको ६५ रुपैयाँ पाउन थालेका छन् । कुश्मा बजारमा ग्राहक खोज्दै विक्री गर्ने किसानले अहिले संकलन केन्द्रमा दूध खन्याएर घरको काम भ्याउन पाएका छन् ।