गर्भपतनको नाममा छोरीको भ्रुण हत्या बढ्दो 

शिक्षा समाचार स्वास्थ्य
राजविराज, १ जेठ
 छोरा र छोरी समान सन्तानको रुपमा समाजले दर्जा नदिएको कारण छोरीको भ्रुण हत्या बढ्दै गएको छ । छोराको आशमा अनिइच्छित गर्भ रहेको भन्दै छोरीलाई गर्भमै निमोठने कार्य भइरहेको छ । भारतमा गर्भ जाँच गर्ने र नेपालमा आएर लुकिछुपी गर्भपतन गराउने चलन बढेको छ ।
भारतको बिहार, उत्तर प्रदेशसहितको काठमाण्डौ सहरमा गर्भ जाँच गराउने र छोरी देखिएपछि गर्भपतन गराउने संख्या बढ्दै गएको छ । अनिइच्छुक गर्भको नाममा छोरीलाई भू्रण अवस्थामा मार्न सुरक्षित गर्भपतन गराउनेमा दम्पति नै रहेको छ । अविवाहित, तथा परपुरुषसँगको गर्भमा नीजि क्लिनीकमा गर्भपतन गर्नेको संख्या निकै भएपनि त्यस्ता क्लिनिकमा अभिलेख नै गोप्य राखिन्छ ।
यसरी नीजि क्लिनिकमा गरिने गर्भपतनका शिशुलाई सुरक्षित व्यवस्थापन गर्न नसक्दा बाहिर फालिएको अवस्थामा भेटिने गर्दा घटना बाहिर आउने गरेको छ । पछिल्लो पटक गत २४ गते सप्तरीको राजगढ गाउँपालिका ३ स्थित झौरा बजारबाट १ किलो मिटर पुर्वमा खोल्सिको छेउमा दिउँसो १ः४५ बजेको समयमा साडीमा बेरिएको अवस्थामा नवजात शिशु मृत फेला परेको थियो । घटनाको प्रकृतिले पेटमा भएको छोरीलाई गर्भमै मारेर फालिएको देखिन्छ ।
गर्भको १२ सातापछि बच्चाको शारीरिक आकार प्रकार ठूलो भएपछिको अवस्थामा व्यथा लाग्ने औषधि खुवाएर गर्भपन गराउने गरिएको एक नीजि क्लिनिकका सञ्चालकले नाम नछाप्ने शर्तमा भन्नुभयो, हामी कहाँ दैनिक दुई÷तीन जनाले छोरीको गर्भपतन गराउन आउँछ । जिल्लामा म जस्तै एक दर्जन बढी अबैद्य रुपमा नीजि क्लिनिकमा गर्भपतन हुन्छ ।
मेडिकल र सर्जिकल गरी दुई किसिमबाट गर्भपतन गराउन सकिने भएपनि अबैद्य नीजि क्लिनिकले औषधि राखेर गर्भपन गराउदै आएको छ । औषधिबाट गर्भपतन हुन सकेपछि सर्जिकल माध्यमबाट गर्भपन गर्न सकिने बताइएको छ । सामाजिक लाज, अशिक्षित, चेतना अभावले नीजि क्लिनिकमा गर्भपतन गराउन जाने गरेको गर्भपन गराएको सुनिता यादवले बताउनुभयो । राजविराज नगरमा मात्र आधा दर्जन सहित जिल्लाको अन्य सहरमा अबैद्य रुपमा नीजि क्लिनिकहरुमा गर्भपतन भइरहेको छ ।
नीजि क्लिनिकमा एक व्यक्तिबाट सात हजारदेखि २५ हजार रुपियाँ गर्भपतन गराए वापत लिने गरेको सेवाग्राही राधा साहले बताइन । गर्भपतनका बेला कुनै अप्ठयारो नभएमा पच्चिने गरेको छ, उहाँले भन्नुभयो, संक्रमण, तथा जोखिम भएमा बिराटनगर, धरानका नीजि अस्पतालमा पठाएर बेच्ने गरेको छ । त्यसबाट पनि उनीहरु कमिशन खान्छन ।
यस्तै गत फागुन छ गते सोमबार दिउँसो करिब १ः१५ बजेको समयमा सालनालसहित नवजात शिशु बालिका मृत फेला परेको हो । राजविराज नगरपालिका ९ बिहारपुर स्थित राजेन्द्र वर्माको बासघारीमा उक्त शिशु मृत फेला परेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । सालनालसहित रातो साडीमा बेरिएर प्लास्टिकको झोला भित्र राखिएको अवस्थामा मृत बालिका बासघारिमा फालेको अबस्थामा भेटिएको प्रहरीको कथन छ ।
अनिइच्छुक गर्भ रहेको अवस्थामा निश्चित सामान्य ८–१२ तथा १८ हप्तासम्ममा गर्भपतन गराउन सकिने कानूनी व्यवस्था गरेको छ । तर, ती व्यवस्थाको आडमा गर्भमा छोरी भएको अवस्थामा गर्भ हटाउने प्रबृति नै बढेको छ । यसै कारणले उक्त बालिकाको भ्रूण हत्या गरी बासघारीमा फालेको हुन घटनाको प्रकृतिले भनिरहेको छ । विभिन्न कम्प्युटर प्रविधि (भिडियो एक्स रे) बाट भ्रूण पत्ता लगाएर छोरी भएको थाहा पाउनेबित्तिकै गर्भपतन गराउनेतिर लाग्ने गरिन्छ ।
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुरक्षित गर्भपन शाखाका अनुसार आर्थिक वर्ष २०७४÷०७५ को १२ महिनामा ७१ जनाले गर्भपतन गराएका थिए भने चालु आवको १० महिनामै ७८ जनाले गर्भपतन गराइसेकको मेडिलक सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो । भ्रुणको पहिचान गर्न र भन्न नमिल्ने भन्दै अस्पतालका सूचना अधिकारी रामकुमार दियालीले गर्भपतन गराउन आउने अधिकाँश दम्पति नै रहने गरेको बताउनुभयो । गर्भमा छोरी वा आमाको शारीरिक अवस्था कमजोर वा बच्चाको अवस्था खराब कारण गर्भपतन गराउन आउने गरेको उहाँको कथन छ । उहाँले भन्नुभयो, धेरैले घरबाटै औषधि खान्छन, रगत बग्न थालेपछि यहाँ सफाइ गराउन आउने गरेको छ ।
यता प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा बेटी पढाउ, बेटी बचाउ अभियान सुरु गरेको छ तर, यसलाई सुरक्षित गर्भपतनले चुनौति दिदै गरेको छ ।
पहिलो सन्तान अथवा एक मात्र छोरी पाएसम्म छोरीको भ्रूण हत्या नहुने गरेको भएतापनि दुई वा बढी छोरी पाइएका दम्पतिले भ्रूणमै निमोठ्दै आएको छ । आधिकारिक तथा अनुमति लिइएका स्वास्थ्य संस्थाबाहेक दर्जन जति नीजि क्लिनिकमा गर्भ हटाउने कार्य भइरहेको छ । महिलाको परपुरुष तथा अविवाहितको अन्यसँगको यौन सम्पर्कमा गर्भ रहन गएमा यस्ता नीजि क्लिनिकले चर्को शुल्क लिएर गर्भ हटाउने (एबोर्सन) गरिन्छ ।
खुला संसारमा आँखा खोल्न नपाउँदै भ्रूणमै छोरी मार्ने कार्य तीब्र रुपमा बढेको छ । छोरीप्रतिको परम्परागत सोच, दाइँजो दिनु पर्ने जस्ता कारण छोरीको भ्रूण हत्या भइरहेको छ । यस्तो कार्य नियन्त्रण नभएमा निकट भविष्यमा छोरीको संख्यामा कमि आउने र छोराले नै दाइजो दिनु पर्ने अवस्था आउन सकिन्छ भने अर्कोतिर छोरीको अभावले छोराहरुको विवाहमा कमि आउने हुदाँ यौन प्यासा मिटाउन बलात्कार घटनामा बृद्धि हुन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *