सल्यान २६, बैशाख
सल्यानका ग्रामिण भेगमा रहेका गाउँबस्तीहरुमा खानेपानीको चरम अभाव हुन थालेको छ । पानीका मूलहरु सुक्दै गएपछि स्थानीय निकै मारमा परेका छन् । खानेपानीको अभाव हुदाँ समस्या भएको स्थानियको भनाई छ । साविकका निगाल्चुला, कुपिण्डे दह, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे, देवस्थल, दार्माकोट, कजेरी, लेखपोखरा, स्यानीखाल, हिवल्चा लगाएतका दर्जन बढी गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव भएको छ ।
खेतीपाती, सिँचाइ तथा अन्य प्रयोजनका लागि त परै जावस् पिउनका लागी समेत पानी नपाउने अवस्था आएपछि स्थानीयबासी घण्टौँ पैदल हिँडेर खानेपानीको जोहो गर्न बाध्य भएको स्थानीय झलक बुढाले बताए । उनले घण्टौँ हिडेर आफु सँगै गाईबस्तुलाई खुवाउने पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको गुनासो ब्यक्त गरे । अहिले उच्च बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै संकटमा परेको उनको भनाई छ ।
गाउँहरुमा खानेपानीको अभाव हुन थालेपछि पशुचौपाया समेत सङ्कटमापर्न थालेको स्थानीय बताउँछन् । गाउँमा भएको पानीको अभाव भएसँगै मानिस बसाइँ सर्न थालेको अर्का स्थानीय इन्द्र पुनले बताए । ‘गाउँमा पानीको स्रोत भएन, मानिस दाङ, सुर्खेत, नेपालगञ्ज र अन्य जिल्लामा बसाइँ सर्न थालेका छन्’— उनले भने । पानीको अभावसँगै घरमा निर्माण गरिएका शौचालय समेत प्रयोगविहीन हुन थालेको उनको भनाई छ । पानीको स्रोत सुक्दै गएकाले बर्षेनी तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेको उनको भनाई छ ।
पहाडका उच्च बस्तीहरूमा पानीको अभाव भएपछि दिनभरी लगाएर दुई गाग्री पानी ल्याउनुपर्ने बाध्यता रहेको अर्का स्थानीय नारायण खत्रीले बताए । ‘दिनभरमा मुस्किलले तीन÷चार गाग्री पानी आउँछ परिवारमा सात÷आठ जना हुन्छन, अन्य कुरा त परै जाओस् खानेपानी पु¥याउनसमेत समस्या हुने गरेको छ’—उनले भने । पानी बोक्न कै लागी बालबालिकाको पढाइ समेत प्रभावित हुने गरेको छ । आकासे पानीसंकलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता छ ।