पाल्पा, १० चैत
बृहत् ज्ञान पीठ तथा योग केन्द्र स्थापनाका लागि पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीको साठीबजारमा रमणेश्वर महादेव गीता ज्ञानविज्ञान महायज्ञ हुने भएको छ ।
चैत २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने महायज्ञबाट सङ्कलित रकमले धर्म, संस्कृतिको संरक्षण गर्दै योग पीठका लागि भवन निर्माण गर्ने लक्ष्य लिइएको छ ।
एक हजार मानिसले एकैपटक योग पीठमा बस्न सक्ने क्षमताको भवन निर्माण गर्ने उद्देश्यका साथ महायज्ञ सञ्चालन हुने महायज्ञ सञ्चालन समितिका महासचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
महायज्ञमा कथावाचक चैतन्यकृष्ण प्रभुजीबाट महायज्ञको कथावाचन हुनेछ । महायज्ञको अवधिमा रमणेश्वर महादेव मन्दिरमा रुद्राभिषेक हवन तथा दुर्गामाता मन्दिरमा कथावाचन, श्रीमद् देवीभागवत, गीताको दैनिक पाठ, कथावाचन, गङ्गा आरती, एक लाख बेलपत्रको अर्पण गर्ने कार्यक्रम रहेको सञ्चार संयोजक मुक्तिप्रसाद न्यौपानेले जानकारी दिए ।
महायज्ञबाट रु ५० लाख आम्दानी गर्ने लक्ष्य र रु १५ लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ । महायज्ञ सम्पन्न गर्न १५१ को मूल समिति गठन गरिएको छ । समितिका संयोजकमा राधेश्याम जोशी, महासचिवमा नारायणप्रसाद भट्टराई, सहसंयोजकमा कृष्ण अर्याल, रामप्रसाद ढकाल, मधुप्रसाद डुम्रे, हुमबहादुर सिंजाली, कोषाध्यक्षमा छविलाल खनाल रहेको छ ।