भक्तपुरको सहकारी वित्तीय क्षेत्रमा भक्तपुर बचत सर्वोत्कृष्ट

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, २० फागुन

भक्तपुर बचत तथा ऋण सहकारी संस्थाले आइतबार गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा भक्तपुरका सहकारीबीच वित्तीय क्षेत्रमा सर्वोत्कृष्ट भएको विश्लेषण गरेको छ । संस्थाको अर्धवार्षिक वित्तीय विवरणको वासलातले रु.१ अर्ब ७९ करोड ३४ लाख २ सय ४६ देखाएको छ । कार्यक्रम संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार तथा विभिन्न उपसमितिका पदाधिकारी र कर्मचारीबीच अन्तरक्रियात्मक रुपमा सूर्यविनायकमा भएको होे ।


प्रमुख अतिथि एवं सल्लाहकार कृष्णप्रसाद धन्छाले कार्यक्रमको उद्घाटन गर्दै उनले संस्थाको दिगो विकासका लागि ध्येय, लक्ष्य, उद्देश्य र भूमिका महत्वपूर्ण हुने बताए । साथै उनले संस्थामा सुशासन र संस्थागत विकास गर्न आवश्यक नीति नियम थप गर्नुपर्ने बताए । संस्थाको परीक्षा विभिन्न क्षेत्रका विज्ञहरु राखेर सामाजिक परीक्षणमार्फत पनि गर्न सकिने उनको तर्क छ ।


कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले पहिले जसोतसो चलाएको संस्थालाई प्रणालीगत रुपमा विभिन्न नीतिनियम बनाइ चलाउँदा समस्या नभएको बताए। उनले सबै पक्षको समिश्रणले खस्किन लागेको संस्थालाई प्रगतितिर ल्याउन सफल भएको बताए । साथै उनले सहकारी सम्बन्धी ऐन, कानुन तथा नीति नियमहरुको अध्ययनले संस्थाको दिगो विकास गर्न सक्ने बताए ।


त्यस्तै संस्थाका कोषाध्यक्ष राम प्रसाद प्रजापतिले पुस मसान्तसम्मको संस्थाको वित्तीय विवरण पेश गरेको उक्त कार्यक्रममा आगामी दिनमा अनुमानित बजेत लक्ष्यलाई पूरा गर्न सबै लाग्नुपर्ने बताए । उपाध्यक्ष निर्मल प्रजापतिले स्वागत गर्दै भाखा नाघेका कर्जा, सदस्यता वृद्धि र सहकारी सदस्य शिक्षालाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्ने बताए । साथै त्रिवर्षिय योजना परिकल्पनाअन्तर्गत वित्तीय क्षेत्रमा भक्तपुरमा सर्वोत्कृष्ट बनाउने लक्ष्य पूरा भएको उनको दाबी छ । उनले अब संख्यात्मकभन्दा आवश्यकतामा आधारित गुणात्मक कार्यक्रमको पहिचान गर्नुपर्ने बताए ।


सचिव लक्ष्मी प्रसाद कुसीले संस्थाले आगामी दिनमा साधारणसभामा दिएका सल्लाहसुझावलाई मनन् गरी आदर निकेतन बनाउन लाग्नुपर्ने बताए । संस्थाले वित्तीय व्यवस्थापनका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न उपसमितिहरुले क्रियाकलापहरु गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *