गर्मीका कपडा बनाउन तयारी पोशाक उद्योगलाई चटारो

अर्थ/वाणिज्य समाचार

बाँके, २ फागुन


विगतका वर्षहरुमा शीतलहरले आक्रान्त बनाउने बाँके र बर्दियामा यस वर्ष शीतलहरको प्रभाव परेन । एकदुई दिन हुस्सु लागे पनि दिनभर घाम लागेपछि पुसमाघमा पनि बाँकेबासीले चिसोको सामना गर्नुपरेन । माघ अन्तिम तीन दिन लगातार झरी परेपछि केही चिसो महसुस गरे बाँकेबासीले । फागुन लागेसँगै बाँके र बर्दियामा गर्मीको अनुभव हुन थालेको छ । फागुन महीनाको शुरुआतमै गर्मीको अनुभव हुन थालेपछि यस वर्ष यहाँको तामक्रम उच्च हुने आकलन भइरहेको छ ।

बाँके र बर्दियामा गर्मीको अनुभव हुन थालेसँगै नेपालगञ्जका कपडा व्यवसायीहरुले जाडोका लागि बिक्रीमा राखिएको कपडा थन्काउन थालेका छ । कपडा व्यवसायीहरुले आफ्ना पसलमा गर्मीका कपडाहरु झुण्ड्याउन थालेका छन् भने नेपालगञ्जका तयारी पोशाक उद्योगलाई भने गर्मीयाममा लगाउने कपडा उत्पादन गर्ने चटारो छ ।

यतिबेला यहाँका तयारी पोशाक उद्योगका कामदार टिर्सट, हाफपाइन्ट, पाइन्टलगायतका गर्मीमा लगाउने कपडा बनाउन रातदिन व्यस्त छन् ।

“तयारी पोशाक उद्योगलाई गर्मीको कपडा बनाउने चटारो छ” कमल गार्मेन्ट उद्योगका सञ्चालक टङ्कसिंह धामीले भने “अहिले उत्पादन शुरु ग¥यौँ भने गर्मी बढेसँगै ग्राहकसम्म कपडा पुग्छ ।” कमल गार्मेन्ट उद्योगमा कार्यरत कामदारहरु टिर्सट, हाफपाइन्ट, पाइन्ट लगायतका गर्मीमा लगाउने कपडा सिलाउन व्यस्त छन् । नेपालगञ्जमा दुई दर्जन बढी तयारी पोशाक उद्योग सञ्चालनमा छन् ।

सीमित उद्योगहरु ठूलो लगानीसहित सञ्चालनमा छन् भने अन्य उद्योग सानो लगानीका छन् । यी उद्योगहरुले कच्चा पदार्थ बाहिरबाट ल्याएर यहाँ कपडा उत्पादन गर्ने गर्छन् । नेपालगञ्जमा तयारी पोशाक उद्योगको ठूलो बजार भएकाले यहाँ उत्पादन भएका कपडाहरु ५ नम्बर प्रदेशका पहाडी जिल्ला, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसम्म बिक्री हुने गरेको छ ।

न्यू लुम्बिनी गार्मेन्ट उद्योगका सञ्चालक कश्मीरा खातुनका अनुसार यहाँ उत्पादन भएका कपडाको बजार पश्चिम नेपाल नै हो । मौसमअनुसारका कपडा उत्पादन हुने गरेको उनले बताएयो । “अहिले गर्मीयामको कपडा उत्पादन गर्न शुरु गरिसकेका छौँ”, कश्मीराले भने “हामी अहिले कपडा उत्पादनको काममै व्यस्त छौँ ।”

घरेलु उद्योगमा १७८ महिला उद्यमी

बाँके जिल्लामा घरेलु तथा साना उद्योगमा महिलाहरुको लगानी बढ्दै छ । चालु आर्थिक वर्ष २०७५ र ७६ को छ महीनामा १७८ जना महिलाले उत्पादनदेखि सेवामूलक उद्योग सञ्चालन गर्न विभिन्न फर्महरु दर्ता गरेका छन् ।

महिलाको नाममा फर्म दर्ता गरेर पुरुषले चलाउने गरेको भए पनि पछिल्लो समय स्वयं महिला सक्रिय बन्न थालेका छन् । घरेलु तथा साना उद्योग क्षेत्रमा महिलाको आर्कषण बढेको व्यवसायीहरुले बताएका छन् । जिल्लामा चालु आर्थिक वर्षका छ महीनामा रु एक अर्ब २९ लाख ५१ हजार लगानीमा ५५२ उद्योगहरु बाँकेमा भित्रिएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका प्रमुख शिक्षक ऋषिराम पोखरेलका अनुसार चालु आर्थिक वर्षमा उद्योग दर्ता बढेको देखिन्छ । दर्ता भएका अधिकांश उद्योग सञ्चालन भइरहेको पोखरेलले जानकारी दिए । दर्ता भएका उद्योगमध्ये ५६६ जना पुरुषको छ भने १७८ वटा महिलाका नाममा सञ्चालित छन् । चालु आर्थिक वर्षभित्रै बाँकेमा दर्ता भएका उद्योगबाट एक हजार २२८ जना महिलाले रोजगारी पाएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *