समाजसेवाका नमूना चन्द्र र सुरज

शिक्षा समाचार स्वास्थ्य

म्याग्दी, २७ माघ


मानिस धर्मका लागि मन्दिरमा धाउँछन्, दान गर्छन् र आत्मसन्तुटि लिने गर्छन् । आफ्नै शरीरको अङ्ग दिएर अरुको जीवन बचाउने र रक्तदान गर्ने झनै पुण्यका काम हुन् । आफ्नो कलेजो र ५३ पटकसम्म रक्तदान गरेर अरुको जीवन बचाउने थोरै मानिसहरुमध्येमा पर्छन् म्याग्दीका चन्द्र र सुरज केसी । उनीहरु दाजुभाइ हुन् ।

एउटै घरका साख्खै दुई भाइ ४४ वर्षीय चन्द्र र ४२ वर्षीय सुरजले आफ्नै शरीरको अङ्ग र रगत दिएर समाज सेवाको उदाहरण प्रस्तुत गरेको छ ।

विभिन्न परोपकारी सङ्घसंस्थामा आवद्ध चन्द्रले केही दिन अघि नौ वर्षिया बालिकालाई आफ्नो कलेजो दान दिएर बचाएको छ । उनकै भाइ सुरजले ५३ औँ पटकसम्म रक्तदान गरेर सुत्केरी महिला र कैयौं घाइतेको जीवन रक्षा गरेको छ ।

जन्मेको चार महिनादेखि थलिएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान औलकी सियाना रन्तिजाको बेनी, पोखरा हुँदै काठमाडौँ पु¥याउँदा पनि रोग पत्ता नलागे पछि भारतको राजधानी नयाँ दिल्ली लगियो । त्यहाँ पुगेपछि पत्ता लाग्यो, रन्तिजाको कलेजोमा समस्या रहेछ । छोरीलाई उपचार गरेर निको पार्न सियानाकी आमा रेश्मा रन्तिजा र बुबा प्रदीप रन्तिजाले निकै दौडधूप गरे । कैयौंलाई गुहारे। देवीदेउता पुकारे तर केही शीप लागेन ।

औषधिले निको नभएपछि सियानाको उपचारमा खटिएका सर गंगाराम अस्पतालका चिकित्सकद्वय डा निमेष र डा विशालले ‘छोरीको कलेजो फेर्नुपर्छ, कसैले दान गर्नुप¥यो’ भने । मिल्ने भए आफ्नो मुटु पनि दिन तयार आमाबाबु दुवैसँग छोरीको कलेजो मेल खाएन । सियानाको उपचारका लागि अर्थाभाव हुनाका साथै कलेजोदाता पनि चाहिएको खबर म्याग्दीमा फैलियो ।

आखिर चन्द्र केसी सियानाका लागि बाबुआमाजस्तै प्यारो बनेर झुल्किए । ती बालिकालाई कलेजोको टुक्रा काटेर दिन केसी राजी भए । म्याग्दीमा असहाय र विपन्नलाई सहयोग पु¥याउँदै आएका ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष केसीले पहिला पहिला पैसा दिएर सहयोग गरे । अरुसँग मागेर सहयोग जुटाए । कहिले मिर्गौला रोगीको उपचार हुन्थ्यो त कहिले मुटु रोगीको । कहिले कलिला हातहरुमा कापी कलम थमाउने काम गरे भने कहिले थरथर कापिरहेको जीउमा न्यानो लुगा । यसपालि चाहीँ केसीले आफ्नै कलेजोको टुक्रा ती बालिकालाई दिएर बचाए । केसीलाई अहिले ‘म्याग्दीका दधीचि’ (अरुका लागि आफ्नो शरीरको अङ्ग काटेर दिनसक्ने दानी व्यक्ति) भन्न थालिएको छ ।

भारतको सर गंगाराम अस्पतालमा रन्तिजालाई केसीले दान गरेकोे कलेजो प्रत्यारोपण गरेपछि रन्तिजाको जीवन रक्षा भएको शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए । शाक्यले भने – “कोषका संस्थापक अध्यक्ष केसीले मानवीय सेवा र दानवीरहरुको पङ्क्तिमा साहसको एउटा अभिलेख राखेको छ ।” केसीको करीब ३० प्रतिशत कलेजो निकालेर प्रत्यारोपण गरिएको हो । अहिले बिरामी सायना र दानवीर केसी दुवै अस्पतालमा स्वास्थ्य लाभ गर्दै छन् ।

सायनाको जीवन रक्षाका लागि प्रवासमा रहेका म्याग्देलीको पहलमा ३० लाख रुपैयाँ सङ्कलन गरिएको थियो । कलेजो प्रत्यारोपणअघि उपचारमा १२ लाख रुपैयाँ खर्च भइसकेको छ । अहिले प्रत्यारोपणका लागि मात्रै १७ लाख भारुभन्दा बढी आवश्यक भएको देखिएकाले थप सहयोगका लागि कोषले आह्वान गरेको छ ।

त्यसैगरी चन्द्रका भाइ सुरजले पनि ५३ औँ पटक रक्तदान गरेर कैयौंको जीवन बचाएको छ । विसं २०५४ मा महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत रहँदा पहिलो पटक रक्तदान गरेको बताउने सुरजले अहिलेसम्म ५३ औँ पटक रक्तदान गरेको छ ।

केसीले हाइपोप्लाष्टिक एनिमिया भएर थलिएका, क्यान्सर भएर किमो गर्नुपर्ने अवस्थामा पुगेका, शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्ने अवस्थाका, गाडी दुर्घटना भएका लगायत दर्जनौं व्यक्तिलाई आफ्नो रगत दिएर बचाएको छ ।

सामान्यतया रक्तदान गरेको तीन महिना पछि मात्र पुनः रक्तदान गर्न मिल्ने चिकित्सकहरुको परामर्श रहने गर्छ तर, अरुको दुःख देख्नै नसक्ने सुरजले आवश्यक परेको खण्डमा जतिबेला पनि आफ्नो रगत दिने गरेको छ । केसीको रगत ए प्लस समूहको हो ।
केसी दाजुभाइलाई उदार हृदय भएका सहयोगी मान्छे भनेर उनीहरुलाई नजीकबाट चिन्नेहरु बताउने गर्छन् । अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् म्याग्दीका युवा समाजसेवी प्रकाश पौडेलले केसी दाजुभाइलाई अरुको दुःख देख्नै नसक्ने र आफ्नो सुखको ख्यालै नगर्ने ‘विन्दास मान्छे’ को रुपमा चिन्ने गरेको बताए।

सुरज पत्रकार महासङ्घ म्याग्दीको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । यातायात व्यवसायी र माउण्ट एभरेष्ट आवासीय माविका सञ्चालक समेत रहनुभएका केसी नेपाल रेडक्रस सोसाइटी म्याग्दीसँग समेत सम्बद्ध हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *