१५ औँ वर्षमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, २५ माघ


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशको सार्वभामिकता रक्षा गर्न अनुशासित नागरिक तयार गर्नुपर्ने बताएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको १५ औँ वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष बिजुक्छेंले समाजलाई अगाडि बढाउन अनुशासित युवाहरूको आवश्यकता भएको र विद्यार्थीहरूमा देश र समाजको निम्ति निःस्वार्थ रूपमा काम गर्ने भावना हुनुपर्ने बताए ।
शिक्षालाई उत्पादन श्रमसँग मिलाउनुपर्नेमा सरकारको ध्यान जान नसकेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले नयाँ पुस्ताका युवाहरूलाई राजनैतिक उद्देश्य बोकेर आफ्नो गन्तव्य पहिचान गर्न मार्गनिर्देशन दिए । देश अहिले दिशाहीन गतिमा अगाडि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष बिजुक्छेंले जुनसुकै क्षेत्रमा बसेर इमानदारीपूर्वक काम गर्ने र आफूले हासिल गरेको ज्ञानलाई समाज र देशको सेवामा प्रयोग गर्ने युवाहरूको खाँचो औँल्याए ।
कार्यक्रमका सभापति, कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूले न्यून शुल्कमा गुणस्तरीय शिक्षा र विद्यार्थीहरूलाई सीपमूलक शिक्षा प्रदान गरिरहेको बताए ।
जनताका छोराछोरीले राजनीति गरेन भने शोषक सामन्तहरू राजनीतिमा अगाडि आउने भएकाले स्वच्छ छवि भएका इमानदार व्यक्तिहरू राजनीतिमा लागी सरकारको नेतृत्व गर्नुपर्ने उनले बताए ।
भक्तपुर नगरपालिकाले नगरको १० ओटै वडामा घरदैलो नर्सिङ सेवा सञ्चालन गरेको र च्याम्हासिंह स्वास्थ्य केन्द्रसँगै २५ शैय्याको ख्वप अस्पताल निर्माणको प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ छ ।
नेमकिपा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले देशलाई माया गर्ने, देश र समाज बुझ्ने असल नागरिकको खाँचो भएको उल्लेख गर्दै राजनीतिक नेतृत्व राम्रो भए देशको भविष्य पनि सुन्दर हुने बताए ।
नेमकिपा प्रदेशसभा सदस्य सृजना सैंजुले सङ्घीयताको सफल कार्यान्वयन हुन नसक्नुमा शासक दलहरू जिम्मेवार भएको बताइन् । उनले महिलाहरू राजनैतिक रुपमा सचेत भई देश र समाजको सेवा गर्ने भावनाले अगाडि बढ्नुपर्ने बताए ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले विद्यार्थीहरूले आफूले पाएको शिक्षाबाट देश र समाजको सेवा गर्नुपर्नेमा जोड दिँदै भक्तपुर नगरपालिकाको उद्देश्य भक्तपुरलाई सफा, स्वच्छ, सभ्य र शिक्षाको केन्द्र बनाउने रहेको बताए ।
कार्यक्रममा सीटीईभीटीका उपाध्यक्ष कुलबहादुर बस्नेतले भक्तपुर नगरपालिकाले अरु नपाको तुलनामा उदाहरणीय कार्य गरिरहेको चर्चा गर्दै प्राविधिक र व्यवसायिक शिक्षाले मुलुकको विकासमा मद्दत पुग्ने बताए ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक ऋषिकेश श्रेष्ठले क्यान्सरको जोखिम भयावह बन्दै गएको अवस्थामा क्यान्सर रोकथामको निम्ति जनचेतनामूलक कार्यक्रमको आवश्यकता भएको औँल्याए ।
ख्वप बहुप्राविधिक संस्थानका प्राचार्य रत्नसुन्दर लासिवाले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले देशको लागि दक्ष नागरिक तयार गर्न गुणस्तरीय प्रदान गरिरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले शैक्षिक वर्ष २०७५÷७६ को तेस्रो वर्ष परीक्षाफलमा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थी तथा शैक्षिक वर्ष २०७५÷७६ को सिभिल इञ्जिनियरिङ तेस्रो वर्ष दोस्रो खण्डको परीक्षाफलका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *