कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसायमा

अर्थ/वाणिज्य शिक्षा समाचार

बेझाड, १७ माघ


बगनासकाली गाउँपालिका– ९ का ओमबहादुर सारुले कोरियाको जागिर छाडेर बङ्गुरपालन व्यवसाय सञ्चालन गरेको छ ।

तीन वर्षको कोरियाको अनुभवले उनलाई गाउँमै बङ्गुरपालन व्यवसाय गर्ने जोस जाँगर मिलेको छ । “कोरियामा गरेको दैनिक १२/१५ घण्टाको दुःख यही दिनमा एक/दुई घण्टा गरियो भने लाखौँ कमाउन सकिँदोरहेछ”, उनले भने । कम लगानीमा थोरै मेहनत गरे पनि लाखौँ यही कमाउन सकिने उनले बताए ।

गाउँमा खेर गएको खोरिया बारीमा उनले बङ्गुर फार्म सञ्चालन गरेको छ । उनको फार्ममा हाल १६ वटा माउ बङ्गुर छ । बङ्गुरको पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने उनले बताए ।

“बिक्रीका लागि अत्यन्त सहज छ, मासुभन्दा पाठापाठी बिक्रीबाट छोटो समयमा धेरै फाइदा लिन सकिन्छ, घरबाटै पाठापाठी धमाधम बिक्री भइरहेको छ”, सारुले भने ।

हाल बङ्गुरको पाठा चार हजार र पाठी तीन हजार ५०० मा बिक्री हुने गर्छ । खर्च कटाएर एक वर्षमा रु चार लाख आम्दानी हुने गरेको उनले बताए । कोरियाबाट फर्केलगत्तै १५ वर्षअघिदेखि बङ्गुरपालन व्यवसाय सञ्चालन गरेका सारुले यसलाई दीर्घकालिन समयसम्म निरन्तरता दिने बताए । मेहनत र परिश्रम गरियो भने पैसा कमाउनकै निम्ति अरब र कोरिया धाउनु पर्दैन ।

वैदेशिक रोजगारीका लागि खर्चने रकममध्येको केही रकम लगानी गरेर कृषि तथा पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *