बालविवाह विरुद्धको अभियानमा किशोरीहरु

शिक्षा समाचार स्वास्थ्य

बैतडी, २ माघ


पाँच वर्ष अगाडि बैतडी सबैभन्दा बढी बालविवाह हुने पाँच जिल्ला भित्र पर्दथ्यो । बालविवाहका कारण समाजमा विभिन्न समस्या निम्तिन थालेपछि स्वयं किशोरीहरु यस कुरीति विरुद्धको अभियानमा सक्रिय भएर लागेका छन् ।

बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसाहरु खेप्नुपरेको भन्दै बैतडीका किशोरीहरु बालविवाह विरुद्धको अभियानमा जुटेका हुन् । बालविवाह विरुद्ध आफूहरुले सामूहिक रुपमा अभियान चलाएको पञ्चेश्वर गाउँपालिका अमराडीका मञ्जु चन्दले बताए ।

उनले भने – “बालविवाह रोक्ने अभियान चलाएर हामीले गाउँमा अभिभावकसहितलाई सचेत पार्न थालेका छौं ।”

कुसंस्कार, सामाजिक मर्यादा, कमजोर आर्थिक हैसियत लगायतका कारणले वर्षौंदेखि यहाँ बालविवाह हुँदै आएको छ । शिवनाथ गाउँपालिकाका सोनिया पार्कीले भने – “बालविवाह न्यूनीकरणका लागि पहिला आफैं सचेत हुने र पछि अरुलाई पनि सचेत पार्ने कार्यमा लागेका छौं ।”

जिल्लाको पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले बालविवाह विरुद्धको कार्यक्रम सञ्चालनमा ल्याएको छ । बालविवाह रोक्न किशोरीहरुलाई सक्षम बनाउन विभिन्न खालका तालीमसमेत दिने गरिएको छ । बालविवाहका नकारात्मक असरबारे चेतना जगाउने मात्रै नभएर उनीहरुलाई अर्थोपार्जनका क्रियाकलापमा समेत संलग्न गराउने नीति सरकारले लिएको छ ।

बालविवाह न्यूनीकरणका लागि बैतडीमा किशोरीहरुले आफैंले पहल थालेका छन् । जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरी वृत्तमा आबद्ध भएर उनीहरु यस अभियानमा सक्रिय रुपमा सहभागी भइरहेका छन् ।

आफ्नो गाउँपालिकाका प्रत्येक वडामा किशोरी वृतमा आबद्ध किशोरीहरुले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको शिवनाथ गाउँपालिकाकी धनेश्वरी महताले बताए । महताका अनुसार उनीहरुले सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गरेर अभिभावकलाई सचेत पार्ने काम गरिरहेका छन् ।

बालविवाहका कारण किशोरीहरुले विद्यालय छाड्नुपर्ने, छिट्टै बच्चा जन्माउनुपर्ने, स्वास्थ्यमा विभिन्न समस्याहरु आइपर्ने थाहा पाएपछि उनीहरुले गाउँमा पनि समूहमा सिकाउने काम गर्दैआएका छन् । पाटन नगरपालिकाका महिला विकास निरीक्षक बिष्ना भण्डारी छोरीहरु आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गरिदिनुपर्ने सन्देशसहित अभियान सञ्चालन गर्नुपर्ने बताउछ । बैतडीका विभिन्न ग्रामीण भेगमा अझै पनि उमेर नपुगेका छोराछोरीको बिहे गरिदिने चलन कायमै छ ।

रेडक्रस सोसाइटी बैतडीका मन्त्री रमेशसिंह भण्डारीका अनुसार रेडक्रसले राष्ट्रसङ्घीय जनसङ्ख्या कोषसँग मिलेर बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको छ । सबैतिरबाट यस्तो प्रयास भइरहे पनि अपेक्षित नतीजा भने आएको छैन । मागेर हुने बालविवाह रोकिए पनि भागेर हुने बालविवाह चुनौतीको रुपमा रहिआएको छ ।

बैतडीमा ५७ वटा किशोरी वृतमा आवद्ध किशोरीहरु बालविवाह न्यूनीकरणका लागि सञ्चालित अभियानमा संलग्न छन् । वडा तहमा गठन गरिएका यस्ता वृत्तहरुको पहलमा एकसय भन्दा बढी बालविवाह रोकिएका राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए ।

बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले पाँच वर्ष अघि गरेको एक अध्ययन अनुसार बैतडीमा ५९.५ प्रतिशत बालविवाह हुने गरेको पाइएको थियो ।

बालविवाहका कारण किशोरीहरुले शिक्षा ग्रहण गर्न नपाउने र विविध खालका स्वास्थ्य समस्या झेल्नुपर्ने भएकाले आफूहरु बालविवाह न्यूनीकरण अभियानमा जुटेको चम्किलातारा किशोरी वृत रौलेश्वरका अध्यक्ष द्रोपती बिष्टले बताए । बाल क्लब र किशोरी वृतहरुले दिने जानकारीका कारण आफूहरुलाई पनि बालविवाह न्यूनीकरणमा सहयोगमा पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीको भनाइ छ ।

बैतडीमा धामीझाँक्री पनि बालविवाह न्यूनीकरण अभियानमा लागेका छन् । पाटन नगरपालिकामा धामी झाँक्रीहरुले प्रतिष्ठित धामी समूह नै निर्माण गरेर बालविवाह विरुद्धको अभियानमा लागिरहेका छन् ।

प्रतिष्ठित धामी समूहका अध्यक्ष हरिप्रसाद जोशीले आफूहरु घरघरमा गएर अभिभावकलाई सम्झाउने काम गरिरहेको बताए ।
बालविवाह रोक्न आफूहरु अहिले कार्ययोजना नै बनाएर विभिन्न गाउँ टोल जाने गरेको बालविवाह न्यूनीकरण समितिका सचिव भोजराज जोशीले बताए । जिल्लाका विभिन्न स्थानमा बालविवाह न्यूनीकरणका लागि धामी, झाँक्री, ज्योतिष तथा पण्डितहरुको कार्यान्वयन समिति नै गठन गरिएका छन् । धामी झाँक्रीहरुको सक्रियताले अभियानमा सहयोग पुगेको ठानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *