ज्येष्ठ नागरिकको अपमान गर्नेलाई सुविधा बन्द

समाचार

भक्तपुर, १५ असोज

ज्येष्ठ नागरिक अपमान गर्नेलाई सूर्यविनायक नगरपालिकाबाट प्रदान गर्ने सबै सेवा सुविधा बन्द गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नगरपालिकाले सोमवार यहाँ आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

नगरपालिका प्रमुख वासुदेव थापाले भने, ‘यस नगरपालिकाका बासिन्दाले आफ्ना बाबुआमा र ज्येष्ठ नागरिकलाई अपमान गरेको, रेखदेख र पालनपोषण नगरेको प्रमाणित भएमा त्यस्ता नागरिकलाई नगरपालिकाले दिने सेवासुविधाबाट वञ्चित गरिनेछ, यो निर्णय आजैदेखि लागू भएको छ ।’
नगरपालिकाले ज्येष्ठ नागरिकका लागि चौतारो, जमघटका लागि आश्रयस्थल बनाउने बताउँदै उनले यस नगरपालिकाभित्र कुनै पनि ज्येष्ठ नागरिकले अपमान भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने दृढता व्यक्त गरे।

प्रमुख थापाले ढुङ्गाको देवतालाई पुज्नुभन्दा आफ्नो आमाबाबुलाई पुज्दा धर्म हुने बताउँदै आमाबाबु र ज्येष्ठ नागरिक देवतासरह हुने धारणा व्यक्त गरे।

कार्यक्रममा नगरपालिकाले घोषणा गरेको यो निर्णयपत्रको अनावरण गर्दै प्रदेश नं ३ का प्रदेशसभा सदस्य शशीजङ्ग थापाले नेपालमा २५ लाख ज्येष्ठ नागरिक रहेको र त्यसमध्ये पनि १० लाखले सामाजिक सुरक्षा भत्ता लिइरहेको बताएको छ ।

‘ज्येष्ठ नागरिकको रेखदेख गर्ने पहिलो जिम्मेवारी उनको परिवारको हो, त्यसपछि मात्रै राज्यको दायित्व हो’, उनले भने, ‘यद्यपि, संविधानमै ज्येष्ठ नागरिकको दायित्व राज्यले लिने व्यवस्था गरेको छ, त्यही अनुरुप सरकारले आउँदो हिउँदे अधिवेशनबाटै वृद्धभत्ता वृद्धि गर्दैछ, आगामी पाँच वर्षभित्र वृद्धभत्ता पाँच हजार पुग्छ ।’

नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, वडा नं ८ का वडाध्यक्ष किरण थापालगायतले सूर्यविनायक नगरपालिकालाई ज्येष्ठ नागरिक सम्मान गर्ने नगरपालिका बनाउने बताए ।

कार्यक्रममा नगर क्षेत्रभित्रका गुण्डु निवासी १०० वर्षीया मनमाया तामाङ, ९९ वर्षीय इन्द्रमाया खत्रीसहित २० जना ज्येष्ठ नागरिकलाई मेडल, दोसल्ला, रेडियो, भजन रहेको पेन ड्राइभ, हर्लिक्स, बिस्कुट, च्यावनप्रासलगायत सामग्री प्रदान गरी सम्मान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *