भक्तपुर, २५ असोज
भक्तपुरमा दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ ।
यस वर्ष सल्लाघारीमा ल्याई पु¥याइएको च्याङ्ग्रा प्रतिकिलो रु ७५० र भेडाको रु ६७५ मूल्य निर्धारण गर्दै व्यवसायीले बिक्री शुरु गरेका हुन् । गत वर्षभन्दा प्रतिकिलो सय रुपैया मूल्य बढाएर व्यवसायीले बिक्री गरेका छन् ।
मुस्ताङमै भेडा–च्याङ्ग्रा महँगो भएकाले यस वर्ष प्रदेश सरकार र स्थानीय सरकारलाई सात ठाउँमा निकासी कर तिर्दै ल्याउनु परेकाले महँगो भएको व्यवसायी पशुपति सिलवालले बताए । विगत १८ वर्षदेखि दशैँमा भेडा–च्याङ्ग्राको व्यवसाय गर्दै आउनुभएका उनले भने, “देश सङ्घीयतामा गएपछि त आफ्नै देशमा पनि विदेशमा झै फरक फरक ठाउँमा कर तिर्दै आउनुपर्ने, यस वर्ष प्रदेश र स्थानीय सरकारलाई मात्रै सात ठाउँमा कर तिर्नु प¥यो, अनि कसरी होस् सस्तो ।”
व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हँुदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा कर तिर्दै आउनु प¥यो । केन्द्रीय सरकारले खसी–बोका, भेडा–च्याङ्ग्रामा कर नलिन आग्रह गरे पनि स्थानीय सरकारले अटेर गरेपछि त्यसको प्रत्यक्ष मारमा भने आम सर्वसाधरण पर्ने भएका छन् ।
सिन्धुपाल्चोकका अर्का व्यापारी रमेश खड्काले मुस्ताङको घारमै एउटा च्याङ्ग्राको रु १६ हजारदेखि रु २४ हजारसम्म तिर्नु परेको बताउँदै ठाउँठाउँमा तिर्नुपर्ने करले यस वर्ष निकै समस्या आएको बताए। विगतका वर्षमा यसरी ठाउँठाउँमा कर तिर्नुपर्ने अवस्था नभए पनि यस वर्ष भने ठाउँठाउँमा कर तिर्दै ल्याउनु परेको उनको भनाइ छ ।
सल्लाघारीमा यस वर्ष करीब दुई हजार च्याङ्ग्रा, करीब हजार भेडा ल्याइएको छ भने अरू ल्याउने क्रम जारी छ । सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु गतवर्ष प्रतिकिलो रु एक हजार २५० मा बिक्री गरेको भए पनि यस वर्ष भने प्रतिकिलो रु एक हजार ६०० मा बिक्री भएको छ ।