३८ औं साहित्य तःमुंज्या भक्तपुरको कमलविनायकमा

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, ३ भदौ । ३८ औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) आगामी कार्तिक ४ र ५ गते भक्तपुर नपा वडा नं १० कमलविनायक आवास क्षेत्रमा हुने भएको छ । सम्मेलन भव्यताका साथ सम्पन्न गर्न आइतबार भएको स्थानीय जनताको भेलाले नरेश खत्रीको संयोजकत्वमा ४३ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।
सम्मेलन आयोजक समितिको उपाध्यक्षमा केवी प्रजापति, सचिवमा सुन्दर राजचल, सहसचिवमा अमोद उलक, कोषाध्यक्षमा जीतेन्द्र मुनंकर्मी र सहकोषाध्यक्षमा कृष्णनारायण दुमरु चुनिनुभएको छ ।
स्थानीय जनताको भेलामा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले तःमुंज्याको दबुलाई सामाजिक जागरणको दबु बनाउनुपर्ने बताउनुभयो ।
उहाँले समाजमा अझै पनि विभिन्न प्रकारका अन्धविश्वास व्याप्त रहेको हुनाले त्यस्ता अन्धविश्वासबाट जनतालाई सचेत बनाउन सांस्कृतिक विधाहरूको उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
‘भूतप्रेत, बोक्सीजस्ता कुरा पूरा अवैज्ञानिक कुरा हुन् । अहिलेको समाज पनि त्यस्ता विषयमा विश्वास गर्दा हाम्रो समाजको पछौटेपना प्रदर्शित हुनेछ ।’, उहाँले भन्नुभयो ।
शैक्षिक प्रमाणपत्र भएर पनि कतिपय मानिसले दिनको एउटा पत्रिका पनि नहेर्नुले समाजको पछौटेपना झल्किने चर्चा गर्दै बिजुक्छेंले तःमुंज्याले सामाजिक चेत विस्तारमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
समसामयिक राजनीतिक अवस्थाबारे चर्चा गर्दै उहाँले सङ्घीयताको अर्थ नै नबुझेका मानिसहरू प्रदेश सभाको सदस्य बन्दा सङ्घीयताको भावना सही तरिकाले कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
उहाँले संसद सदस्य बन्नुको अर्थ पैसा कमाउनु हो भन्ने पुँजीवादी चिन्तन शासक दलका सांसदहरूमा व्याप्त भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालले तःमुंज्या जनताको पक्षमा आवाज उठाउने र देशको सार्वभौमिकता रक्षाको बारेमा जनतालाई सचेत बनाउने दबु भएको बताउनुभयो ।
संसदमा नेमकिपाको भूमिकाबारे चर्चा गर्दै उहाँले जन्मको आधारमा नागरिकता दिने नागरिकता विधेयकले देशको सार्वभौमिकता कमजोर बनाउने भएकोले नेमकिपाले उक्त विधेयकको विरोध गरिरहेको बताउनुभयो ।
उहाँले नेमकिपाले लामो समयअघि नै बोल्दै आएको जघन्य अपराध गर्नेलाई मृत्युदण्डको सजाय आज सबैतिर आवश्यक महसुस गरिएको बताउनुभयो ।
सांसद सुवालले दस वर्षसम्म काठमाडौ उपत्यकामा मेडिकल कलेज स्थापना गर्न नहुने प्रस्तावित विधेयक व्यापक जनताको पक्षमा नरहेको धारणा राख्नुभयो ।
प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले यो वर्ष कार्ल माक्र्सको द्विशतवार्षिकी भएकाले कामदार जनताको दबु तःमुंज्या विशेष गर्नुपर्ने विचार राख्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्या मुल समितिका अध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं ३ का सांसद सृजना सैंजू, नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल र तःमुंज्याका संस्थापक अध्यक्ष कान्छा बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *