हिउँ पर्ने हिमाली क्षेत्रमा मुसलधारे वर्षा हुन थालेपछि

विशेष समाचार समाचार

मनाङको फू गाउँ

मनाङको फू गाउँ

‘यहाँ त हिउँ परेको मात्र थाहा छ, वर्षादमा सामान्य धुलो मार्ने पानी परेपनि यस्तो सन्त्रास फैलाउने वर्षा यसअघि कहिल्यै भएको थाहा छैन’, मनाङको नार्पाभूमि गाउँपालिकाका उपाध्यक्ष कुन्जोतेन्जिङ लामाले नेपालखबरसँग भने।

ठाकुरप्रसाद कोइराला ३९ वर्षअघि मनाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी थिए। २०३६ सालमा उनले ‘मनाङ एक परिचय’ नाउँको पुस्तक प्रकाशित गरे।

‘मनाङका अग्ला पहाडलले छेक्ने हुनाले यहाँ मनसुन सक्रिय हुन पाउँदैन’, कोइरालाले मनाङ बस्दाको अनुभव जोड्दै पुस्तकमा लेखेका छन्, ‘यहाँ पानी निकै कम पर्छ, पानीको सट्टा हिउँ पर्छ।’

‘हिमालयमा पानी होइन हिउँ पर्छ’, हिमाली क्षेत्रको मौषमको कुरा हुँदा प्रायः यसै भन्ने गरिन्छ। ठाकुरप्रसाद कोइरालाको पुस्तकपछि मनाङ वा हिमाली क्षेत्रबारे लेखिएका किताब वा बनाइएका बृत्तचित्रहरूमा पनि हिउँकै चर्चा धेरै गरिएको पाइन्छ।

तर हिमाली क्षेत्रको हवापानी बद्लिन थालेको छ। केही साता अघि मात्रै मनाङमा हाँडीघोप्टे वर्षा भयो। जसले गर्दा मस्र्याङ्दी नदीमा पानीको वहाव बढ्यो, चामे र कोतोगाउँ जोड्ने सडक भास्सिएर यातायात ठप्प भयो। रुखहरू ढलेर कोतोबाट नार्पाभूमि जाने बाटो अवरुद्ध भयो। झरीले मनाङको सदरमुकाम चामे नजिकैको स्याल्क्यू खोला उर्लेर आवतजावत नै बन्द हुने अवस्था समेत सिर्जना भयो।

फू खोलामा आएको बाढीले खेतीयोग्य जमिन र परम्परागत पुल बगाएको छ

फू खोलामा आएको बाढीले खेतीयोग्य जमिन र परम्परागत पुल बगाएको छ

नार्पाभूमि गाउँपालिकाका उपाध्यक्ष कुन्जोतेन्जिङ लामाका अनुसार असार अन्तिम साता यस क्षेत्रको ४५ मिटरभन्दा उच्च भूगोलमा ठूलो वर्षा भयो। जसले गर्दा खोला उर्लेर यहाँका तीन वटा परम्परागत काठे पुल बगायो। बाल्दे खोलामा बढेको पानीको वहावले गाउँको जमिन कटान गर्यो। गाउँलेहरूले गहुँ, करु पिस्न प्रयोग गर्दै आएका पानीघट्ट पनि बाँकी रहेन। करिब ५ हजार मिटर उचाइमा रहेको बौद्ध मार्गीको प्रसिद्ध तीर्थस्थल छो कर्ना ताल क्षेत्रमा परेको मुसलधारे पानीले यहाँको घोडेटो बाटो नराम्रोसँग बिगार्यो। स्थानीयले गोठमा आउजाउ गर्न बनाएका काठेपुल खोलाले बगायो।

‘वर्षादमा सामान्य धुलो मार्ने पानी परेपनि यस्तो सन्त्रास फैलाउने वर्षा यसअघि कहिल्यै भएको थाहा छैन’, उपाध्यक्ष लामाले नेपालखबरसँग भने।

वर्षाले उच्च लेकका चौंरी गोठहरूमा समेत क्षती पुर्यायो। फू गाउँ विकास समितिका पूर्व अध्यक्ष टासीनाम्गेल लामाका अनुसार लगातार मुसलधारे पानी पर्न थालेपछि उच्च पाटनका चौंरी खर्कमा पशुपालन गर्दै आएका किसान ‘अब के हुने हो’ भन्दै अत्तालिन थालेका छन्।

फू खोलामा बढेको पानीको वहावले च्याकुबाट फूगाउँ जोड्ने पदमार्गमा लगाइएका ग्याविन जाली बगायो। केही ठाउँमा पहिरोले बाटो बिगार्दा संवेदनशील हिमाली क्षेत्रको करोडौंको पूर्वाधार नोक्सान भएको छ। फू गाउँको प्रमुख प्रवेशद्वार पनि नदी कटानको चपेटामा परेको छ। खेतीयोग्य जमिन निकै कम रहेको यस ठाउँको मलिलो माटो बगेको छ। लगाइएको गहुँ, करु बालीमा असर पुगेको छ। फू खोलाले खोेलाको किनारमा रहेका खेतीयोग्य जमिन पनि बगाएको छ।

मनाङमा याक चौंरीको बथान

मनाङमा याक चौंरीको बथान

तत्कालीन मनाङ जिल्ला पंचायतका सभापति शेरबहादुर गुरुङ (८१) का अनुसार मुसलधारे वर्षा हुनथालेपछि बाढी, पहिरो, नदी कटानको त्रास थपिएको छ। हिमाली क्षेत्रमा झरी पर्न थालेपछि सबै क्षेत्रमा यसको असर देखा पर्न थालेको छ।

‘केही वर्ष अगाडिसम्म मनाङीहरूले वर्षादमा कुनैपनि किसिमका सास्ती झेल्नु पर्दैनथ्यो’, गुरुङ भन्छन्, ‘अहिले सक्रिय मनसुनले यहाँका परम्परागत चालचलन समेत परिवर्तन गरिदिएको छ।’

हिमाली क्षेत्रको हावापानी विज्ञहरूका अनुसार हिमालयमा हिउँ पर्ने भएपनि कहिलेकाहीँ क्लाउड वर्षा भयो भने ठूलो पानी पर्ने गर्छ।

हिमाली क्षेत्रका वन्यजन्तु तथा वातावरण विज्ञ प्राध्यापक करन शाहका अनुसार एकै ठाउँमा थुप्रिएको बादल बिस्फोट भएर नसोचेको वर्षा हुन्छ। त्यसबेला बाँध भत्किएर पानीको वहाव ह्वात्तै बढे जस्तै हुन्छ।

शाहका अनुसार यसपाली मनाङ लगायत हिमाली क्षेत्रमा त्यही भएको हो।

त्यसो त पृथ्वीको तापक्रम पनि जिरो दशमलब ५ (०.५) का दरले बढ्दै गइरहेको छ। क्लाइमेट एड्भोकेसी इन्टरनेशनलका कार्यकारी निर्देशक धर्मराज केसीका अनुसार हिमालयको तापक्रम गर्मी महिनामा ८ देखि १० डिग्री सेल्सिएससम्म बढेको पाइन्छ। यो क्रम बढिरहेको छ। केसीका अनुसार हिमाली क्षेत्रको तापक्रम पहिलेजस्तो सन्तुलित नहुँदा वर्षादका बेला यस्ता घटना घट्न सक्छन्, जसले यहाँको पर्यावरणमा समेत असर पुर्याउँछ।

झरीको असर हिमाली क्षेत्रका हरेक पक्षमा देखा पर्न थालेको छ।

पशु वारपार गराउन नार गाउँमा परम्परागत शैलीमा बनाइएको काठको महेन्द्र पुल

पशु वारपार गराउन नार गाउँमा परम्परागत शैलीमा बनाइएको काठको महेन्द्र पुल

नार्पाभूमि गाउँपालिकाका उपाध्यक्ष कुन्जोतेन्जिङ् भन्छन्, ‘काठेपुल बगाएपछि याक, चौंरी, घोडालाई कसरी खोला वारिपारि गराउने भन्ने चुनौती थपिएको छ।’

हिमाली क्षेत्रका बस्तुभाउ झोलुङ्गे पुल तर्न मान्दैनन्। मानिस हिंड्ने झोलुङ्गे पुलसँगै बस्तुभाउ वारपार गराउन परम्परागत काठेपुल संरक्षण गरिएको छ। तर अब खोलाले बगाएका काठेपुल पुनःनिर्माण गर्न यहाँ काठ पाउन कठिन छ। यहाँका मानिसहरू काठ लिन दुई दिनको बाटो हिंडेर छ्या–छ्या भन्ने ठाउँसम्म पुग्छन् तर त्यहाँ पनि सहजै काठ पाइँदैन। हिउँद लागेपछि लेकबाट बस्तुभाउ तल झार्ने गरिन्छ। तर खोलामा काठे पुल नहुँदा अप्ठेरो भएको छ।

हाल पशुपालनमा लागेका फू गाउँ विकास समितिका पूर्व अध्यक्ष टासी नाम्गेलका अनुसार विगतमा निकै कम पानी पर्ने भएकाले भेडा, च्याङ्ग्राका पाठापाठी वा चौैंरीका बाच्छाबाच्छीलाई खुल्ला आकाशमा छाड्दा पनि खासै फरक पर्दैनथ्यो। अहिले मुसलधारे पानी पर्दा तिनलाई जोगाउन हम्मेहम्मे पर्छ। परम्परागत शैलीका गोठमा पशुपालन गर्दै आएका किसान थप चिन्तित भएका छन्।

मनाङको ऐतिहासिक टसीलकाङ गुम्बा

मनाङको ऐतिहासिक टसीलकाङ गुम्बा

वर्षादले यहाँको मौलिकता समेत बिगारेको बताउँछन्, नार्पाभूमि गाउँ पालिकाका अध्यक्ष मिङ्मर तेन्जिङ लामा। उनका अनुसार यहाँका स्कुल, गुम्बा, स्तुपा तथा सबै घरहरू ढुङ्गा, माटो र काठको प्रयोग गरी बनाइएका छन्। प्रायः सबै घरका छानामा माटोले लिपिएको छ। पुराना गुम्वाहरू पनि यस्तै छन्।

तर वर्षे झरीले घरका छाना समेत विगार्न थालेको छ। घरमा पानी चुहिन थालेपछि कतिपयले प्लास्टिक त्रिपालले छाना ढाक्न थालेका छन्। पछिल्लो समयमा बनेका गुम्बा, स्कुल सरकारी भवन, तथा घरहरूमा जस्ता पाताको प्रयोग गर्न थालिएको छ। यसले गाउँको परम्परागत बनोटको शैली विगार्दै लगेको देखिन्छ।

वर्षाबाट जोगाउन नार गाउँमा माटाका परम्पारगत घरमा जस्तापाता र त्रिपाल ओढाइएको छ

वर्षाबाट जोगाउन नार गाउँमा माटाका परम्पारगत घरमा जस्तापाता र त्रिपाल ओढाइएको छ

हिमाली क्षेत्रमा लामो समय काम गरेका आर्किटेक्ट इन्जिनियर शोनाम लामाका अनुसार मुसलधारे पानी पर्न थालेपछि हिमाली क्षेत्रको भर्नाकुलर आर्किटेक्चर (मौलिकता जोगाउने रैथाने प्रविधि) लोप हुने अवस्थामा पुगेको छ। अधिकांश ठाउँमा आधुनिक झोलुङ्गे पुल निर्माण भएका छन्। ४५ सय मिटर माथि बनाइएका अस्थायी गोठहरूका छानामा पनि जस्ता पाता प्रयोग गरिएको छ।

‘हिमाली घरको मौलिकता भनेको माटोको छाना हो, जहाँ बिस्कुन सुकाउने र दाउरा सजाएर थुपार्ने चलन छ’, लामा भन्छन्, ‘तर अब बन्ने नयाँ भवन तथा संरचनामा माटोको छानो बनाइँदैन, जसले हिमाली क्षेत्रको पर्यटनमा असर पार्ने खतरा छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *