चितवन, २४ माघ
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा चितवनको भरतपुरमा हुने प्रभु पे चौथो क्यान इन्फोटेक मेला भोलि माघ २५ देखि शुरू हुने भएको छ । भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलाको मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मेलामा सूचना प्रविधिका साथै हार्डवेयर (कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङ सामग्रीहरु) सफ्टवेयर, सुरक्षा सम्बन्धी सामग्रीहरु, मोबाइल, स्मार्ट टीभी लगायत ८० भन्दा बढी स्टल रहने क्यान चितवनका अध्यक्ष भानु शर्माले जानकारी दिए । प्रविधिको मेलामा प्रविधिकै प्रयोग गरेर मेलालाई जतिसक्दो प्रविधिमैत्री बनाउने शर्माले बताए । यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिएको समेत उनको भनाइ छ ।
मेलामा ८० लाखको कारोबार गर्ने लक्ष्य आयोजकको रहेको छ । चितवनको समृद्धि सूचना र प्रविधि भन्ने नारासाथ भरतपुरको अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको हो ।
लामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिसमेत देखाइने क्यानले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त मेलामा नेपालमै बसेर सूचना प्रविधिको क्षेत्रमा भविष्य बनाउन चाहने युवा विद्यार्थीको प्रतिभा देखाउने र नयाँ क्षमता अभिवृद्धि गर्ने युवा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक आइडिया हन्ट कार्यक्रम आयोजना गरिएको अध्यक्ष भानु शर्माले जानकारी दिए ।
मेलामा आइटीसम्बन्धी अन्तरक्रिया कार्यक्रम, डिजिटल नेपाल प्रोजेक्ट प्रदर्शनी तथा प्रतियोगिता, वेबसाइट निर्माण प्रतियोगिता, केलजस्तरीय हाजिरीजवाफ प्रतियोगिता, आइटीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने सेमिनार, नृत्य प्रतियोगिता लगायतका धेरै कार्यक्रम गरिने संघका सन्तोष भुषालले जानकारी दिए ।
यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिएको छ । मेला प्रवेशका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ ।
डेढ लाख दर्शकले मेला अवलोकन गर्ने र ८० लाखको कारोबार हुने आयोजकको अनुमान छ । प्रभु पे मुख्य प्रायोजक रहेको मेलाको सहप्रायोजक अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्ट रहेको छ । मेला माघ २९ सम्म चल्नेछ ।