सल्लाघारीमा निधन भएकाहरुप्रति नगर प्रमुख प्रजापतिद्वारा समवेदना प्रकट

विशेष समाचार समाचार स्वास्थ्य

न्यूजअपडेट संवाददाता
भक्तपुर, ९ साउन


भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा हिजो दिनको करिब १२ः३० बजे सल्लाको रुख ढली एक स्कुटर र मिनिबसमा सवार मध्ये चाँगु नपाका न्हुछेराम बखाद्यो, भक्तपुरका विशेष खर्बुजा र सर्लाहीको हरिवन नपा ४ का राजकुमार भुजेल ३ जनाको निधन भएकोप्रति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरे । उनले बसमा सवार १२ जना घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
घटनाको जानकारी पाएलगत्तै प्रमुख प्रजापति घटनास्थल र बिरामीहरु रहेको इवामुरा अस्पताल पुगी मृतक र घाइतेहरुको स्थिति बुझ्नु भएको थियो । उनले अस्पतालका डाक्टरहरुलाई भेटी सम्भव सबै उपाय अपनाएर घाइतेहरुको उपचार गर्न निर्देशन दिए ।


उनले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाली सेनाका कर्णेल सन्तोष कार्की समेतसँग तत्काल सम्पर्क गरी उचित व्यवस्थापनबारे परामर्श गरे ।
सरोकारवाला निकायबीच समन्वयपश्चात त्यस्ता घटनाहरु दोहरिन नदिन सल्लाघारीस्थित सडकमा खतरा देखिएका सडक वरपरका रुखहरु प्रकृति प्रतिकूल नहुने गरी हटाउने सहमति भएको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।
यस दुर्घटनालाई लिएर भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले घटनाबारे सत्य तथ्य नबुझी हचुवाको भरमा भक्तपुर नगरपालिकाको लापरबाही भनी संसदमा बोलेको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *