बीमासम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, २ मंसिर


भक्तपुर नगरपालिका र बीमा समितिको संयुक्त आयोजनामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयमा बुधबार सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाका कार्यपालिका सदस्य, बीमा कम्पनीका प्रतिनिधि, अगुवा व्यक्तिलगायतका सरोकारवालाहरुबीच उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले बीमा समिति नेपाल बीमा क्षेत्रको नियमनकारी आधिकारिक निकाय भएको बताउँदै बीमाप्रति जनताको विश्वसनीयता हुनुपर्ने र जनतालाई यसको महत्वबारे थाहा दिनुपर्ने बताए ।
नेपाल सरकारको स्वास्थ्य बीमाको कार्यक्रमबाट भक्तपुरका ७५ प्रतिशत जनता लाभान्वित भएको र यसलाई ९० प्रतिशत जनताको पहुँचमा पुर्याउने लक्ष्य रहेको बताउँदै उनले स्वास्थ्यबीमा अन्तर्गतको रकम समयमै निकासा नगरिँदा जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन समस्या उत्पन्न भएको बताए।


बीमा संस्थाहरू सेवामुखी हुनुपर्नेमा जोड दिदै नगर प्रमुख प्रजापतिले बीमा कम्पनीहरूबाट हुने व्यवहारिक कारण र झन्झटले गर्दा जनताले अनाहकमा दुःख पाउने र बीमाप्रतिको विश्वास हट्दै जाने सम्भावनाहरू रहेको औंल्याए।
कार्यक्रमका सभापति एवम् बीमा समितिका उपनिर्देशक सन्तोष कार्कीले बीमा समितिको संक्षिप्त इतिहास, महत्व र नेपालको बीमा बजारको अवस्थाबारे प्रस्तुतीकरण दिए । बीमा संस्थानको कूल लगानी ४ खर्ब बराबरको रहेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा तीन प्रकारका बीमा कम्पनी रहेको रहेको जसअन्तर्गत बीमा समितिबाट इजाजत प्राप्त १९ वटा जीवन बीमा कम्पनी रहेको, २० वटा निर्जीवन बीमा कम्पनी रहेको र २ वटा पुनःर्बीमा कम्पनीहरू रहेको अवगत गराए ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बीमा व्यवसाय जनविश्वासमा अडिएको हुन्छ भन्दै बीमा क्षेत्रबाट प्रशस्त रोजगारीको सिर्जना भइरहेको र ग्रामीण क्षेत्र र न्यून आय भएका जनतामा बीमाको पहुँच हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपस्थित विभिन्न सरोकारवालाहरूले बीमा समितिको काम–कारबाही, समस्या आदिबारे आ–आफ्नो राय व्यक्त गरेका थिए भने उक्त बीमा समितिका राम कोजुले पनि बोलेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *