भक्तपुर जिल्ला समन्वय समितिको पहिलो जिल्ला सभाको बैठक सम्पन्न

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २० जेठ


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला सभाको पहिलो बैठक शुक्रबार जि.स.स. को सभाहलमा बसेको छ ।

नेपालको संविधानको धारा २२० (२) बमोजिम बि.सं. २०७९ को स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाको अन्तिम परिणाम प्राप्त भइसकेपछि ३० दिनभित्र उक्त बैठक बस्नुपर्ने व्यवस्था रहेको छ ।

बैठकले नेपालको संविधानको धारा २२० को उपधारा ३ बमोजिम एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यक सहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समिति गठनको व्यवस्था रहेकोमा एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र एकजना दलित वा अल्पसंख्यकसहित जम्मा ७ जनाको जिल्ला समन्वय समिति गठनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाई दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

साथै उक्त बैठकले वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गरेका मतदाता, राजनीतिक दल, निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबैलाई धन्यवादज्ञापन गरेको छ ।

बैठकमा सुर्यविनायक नपाका प्रमुख बासुदेव थापा, चाँगुनारायण नपाका प्रमुख जीवन खत्री, मध्यपुर थिमी नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, सूर्यविनायक नपाका उपप्रमुख सरिता भट्टराई र मध्यपुर थिमी नपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ र जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेको उपस्थिति रहेको थियो । जिल्ला सभामा नगर प्रमुख र उपप्रमुख सदस्य रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *