पार्टी स्थापना दिवसका अवसरमा पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
भक्तपुर, २८ माघ

नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नपा वडा नं. १ को आयोजनामा बुधबार पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर भएकाे छ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले सबै वडाहरुमा जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य परीक्षण शिविरहरु सञ्चालन गरिरहेको बताउँदै स्वास्थ्य शिविरबाट धेरै युवती तथा महिलाहरु लाभान्वित भएको बताए। रोगदेखि डराउने र लजाउने गर्न नहुने भन्दै उनले समयमै रोगको पहिचान गरी आवश्यक उपचार सके सम्भावित जोखिमबाट बच्न सकिने बताए ।

नेपाल मजदुर किसान पार्टी स्थापना दिवसको असरमा जिल्ला जिल्लामा पुस्तक प्रदर्शनी, अन्तरक्रिया, तालिम, प्रवचन तथा स्वास्थ्य शिविरहरु सञ्चालन भइरहेको अवगत गराउँदै उनले समाजमा बढेको चेतनाका कारण उच्च शिक्षातर्फ छात्राहरुको आकर्षण बढिरहेको धारणा राखे ।

भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुले देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउँदै भक्तपुर क्यान्सर अस्पतालमा सस्तोमा गुणस्तरीय क्यान्सर सेवालगायतका स्वास्थ्य सेवा सुविधा उपलब्ध भइरहेको स्पष्ट पारे।

कार्यक्रममा नेमकिपा वडा नं. १ का पार्टी इन्चार्ज लक्ष्मीनारायण खत्रीले स्वास्थ्य संवेदनशील विषय भएको बताउँदै स्वास्थ्यसँग खेलाँची गर्न नहुने र समयमै रोगको पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडाले पाठेघर तथा स्तन क्यान्सर शिविरको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सचेतना अभिवृद्धिमा निरन्तर लागिरहेको बताए।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडा सदस्य सूर्यप्रसाद श्रेष्ठले पनि बाेलेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *