धमाधम आइपीओ निष्काशनको अनुमति दिंदै बोर्ड, आइपीओ निष्काशन गर्न पनि पालो कुर्नुपर्ने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २८ माघ

प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्नका लागि पालो पर्खनु पर्ने अवस्था आएको छ । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशनको अनुमति धमाधम दिन थालेपछि आइपीओ निष्काशनका लागि कम्पनीहरुले पालो कुर्नु पर्ने अवस्था आएको हो ।
ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले शुक्रबार अर्थात माघ २३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो। २३ गतेदेखि २७ गतेसम्म खुल्ला गरिएको उक्त कम्पनीको आइपीओ बन्द भएको  पुनː भोलीपल्ट अर्थात माघ २८ देखि महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ ल्याउन सूचना प्रकाशित गरेको थियो ।
तर, प्राविधिक रूपमा समस्या हुने भएपछि ग्रीनलाइफको आईपीओ बन्द भएको दुइ दिनपछि अर्थात माघ ३० गतेदखि महिला लघुवित्तको आईपीओ ल्याउन लागिएको छ । त्यसपछि रू रू जलविद्युत कम्पनीले निष्काशन गर्ने तयारी गरेको छ । रू रूलाइ बोर्डले स्वीकृत दिइसकेको छ भने फागुन ७ गतेदेखि स्थानिय बासिन्दाहरूका लागि शेयर निष्काशन गर्दैछ ।
त्यसपछि पनि आइपीओ निष्काशनका लागि लाइनमा लागेका धेरै कम्पनी भएको नेपाल धितोपत्र बोर्डको भनाइ छ ।
बोर्डले आइपीओ निष्काशनका लागि निवेदन दिएकाहरुलाई पालै पालो स्वीकृत दिने भएको छ । पाइपलाइनमा बसेका कम्पनीलाई क्रमशः स्वीकृत दिँदै जाने तयारीमा रहेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बताए ।
आइपीओ निष्काशनका लागि बोर्डको स्वीकृतका लागि ‘क्यु’ मा बस्ने धेरै कम्पनी छन्। यता, लगानीकर्ता पनि एउटा कम्पनीको आइपीओ भरिनसक्दै अर्को कम्पनीको आइपीओ भर्नका लागि तयार हुने पर्ने अवस्था आएको छ । शेयर बजार बढेर २५०० माथि पुगेको समयमा आइपीओ भरेर मनग्य कमाउने धुनमा सर्वसाधारण नागरिक रहेका छन्।
नेप्सेमा सूचीकृत नभएका कम्पनीले पालै पालो आइपीओ निष्काशन गर्दैछन् । केही समयअघि प्रभु लाइफ इन्स्योरेन्स, चन्द्रागिरी हिल्स र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले आइपीओ निष्काशन गरेका थिए । ती कम्पनीको आइपीओ भर्नका लागि सर्वसाधारण लगानीकर्ताको भिड लागेको थियो।इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले अहिलेसम्मकै सबैभन्दा ठूलो आइपिओ निष्काशन गरेको थियो। चन्द्रागिरी हिल्सको शेयर नेप्से सूचीकरण भइसकेको छ भने इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको आइपीओ नेप्सेमा सूचीकृत हुने तयारीमा छ ।
बोर्डमा अहिले पनि आइपीओ निष्काशनका लागि धेरै कम्पनी ‘पाइपलाइन’ मा छन्।
बोर्डमा आइपीओ निष्काशनका लागि आवेदन दिएकामध्ये धेरैजसो जलविद्युतका छन् । हाल शेयर निष्काशन अनुमति प्रक्रियामा रहेका जलविद्युत कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको बोर्डले जनाएको छ ।
 शेयर निष्काशनका लागि आवेदन दिएका जलविद्युत समूहका कम्पनीमा हिमालयन हाइड्रोपावर लिमिटेड (स्थानीय र सर्वसाधारण), विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), रुरु लघुजलविद्युत् परियोजना (स्थानीय बासिन्दा र सर्वसाधारण), शुभम पावर लिमिटेड (सर्वसाधारण), सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेह्रथुम पावर कम्पनी (स्थानीय बासिन्दा र सर्वसाधारण), मैलुङ खोला जलविद्युत (सर्वसाधारण) र मध्यभोटेकोसी जलविद्युत (स्थानीय बासिन्दा र सर्वसाधारण) छन्। शेयर निष्काशन अनुमतिका लागि आवेदन दिएका अन्य समूहका कम्पनीमा डिस मिडिया नेटवर्क र इमर्जिङ नेपाल छन्।
मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ । अन्य समूहअन्तर्गत रहेर शेयर निष्काशन गर्ने उल्लेखित दुई कम्पनीमध्ये आ आफ्नो क्षेत्रमा सबै पहिलो कम्पनी हुन्। यसअघि ती क्षेत्रका कम्पनीले शेयर निष्काशन गरेका छैनन्।
यसैगरी, रिलायबल लाइफ, महालक्ष्मी लाइफ, सानिमा लाइफ, आइएमइ लाइफ, सिटिजन्स लाइफ, ज्योति लाइफ, युनियन लाइफ र सन नेपाल लाइफले पनि आइपीओ निष्काशन गर्ने तयारी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *