भक्तपुर, १५ फागुन
भक्तपुर नगरपालिकाको आयोजनामा चैत ४ गतेदेखि ८ गतेसम्म हुने भक्तपुर महोत्सव २०७६ मा प्रदर्शन गरिने शैक्षिक प्रदर्शनीको तयारीमा विद्यालयका प्रधानाध्यापक र शिक्षक–शिक्षिकाहरुबीच छलफल कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
भेलामा सम्बोधन गर्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सव २०७६ लाई स्मरणयोग्य महोत्सव बनाउन र भक्तपुरलाई वर्षैभरि पर्यटकीय र महोत्सवमय बनाउने प्रयासमा नगरपालिकाले सक्रियता बढाउने बताए ।
भक्तपुर शिक्षाको बारेमा धेरै प्रचार भएको जिल्ला भएको हुँदा महोत्सवमा आकर्षक शैक्षिक प्रदर्शनी र प्रतियोगिताहरु समावेश हुने बताउदै प्रमुख प्रजापतिले लोप हुन पुगेका संस्कृतिलाई जनतामाझ प्रदर्शन गर्ने र भक्तपुरको जीवन्त शैली, सीप, कला–कौशल प्रदर्शन गर्ने अवसरको रुपमा महोत्सवलाई लिनुपर्नेमा जोड दिए ।
भक्तपुरको सम्पदा पुनःनिर्माणको लागि नेपाल सरकार र जर्मनी सरकारबीच भएको सम्झौता र अमेरिकी एमसीसी सम्झौता उस्तै रहेको औंल्याउदै प्रमुख प्रजापतिले उक्त सम्झौता संसदबाट अनुमोदन गर्नुको अर्थ नेपालले भारतको उपनिवेशलाई स्वीकारेको ठहर्ने बताए । पैसाको लागि देशको सार्वभौमिकता बन्धकमा राख्ने काम कसैले गर्न नहुने उनले बताए ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य एवम् क्तपुर महोत्सव शैक्षिक प्रदर्शनी व्यवस्थापन समिति सदस्य सुजन माकले महोत्सवलाई शैक्षिक उद्देश्य प्राप्ति गर्न पुस्तक प्रदर्शनीलाई व्यापक बनाई ख्वप इन्जिनियरिङ कलेजले रोबोटिक प्रदर्शनी र प्रतियोगिताको आयोजना गर्ने बताए ।
ख्वप कलेजका प्राचार्य एवम् भक्तपुर महोत्सव शैक्षिक प्रदर्शनी व्यवस्थापन समिति सदस्य रुपक जोशीले महोत्सवमा विद्यार्थीहरुको सहभागिता बढाउन शैक्षिक गतिविधिलाई प्राथमिकता राखेको बताए ।
भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवमा समावेश हुने विभिन्न विधाहरुबारे अवगत गराउदै भक्तपुरको परम्परागत पोशाक, नाच प्रदर्शन, परम्परागत नेवारी खाना महोत्सव र जीवनशैलीसँग मिल्ने भोजभतेर पनि महोत्सवको मुख्य आकर्षण हुने बताए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् महोत्सवका व्यवस्थापन समिति संयोजक हरिराम सुवाल र वडा नं. ७ का वडा सदस्य एवम् महोत्सव व्यवस्थापन समिति सदस्य रञ्जना त्वातीले पनि बोलेको थियो ।
कार्यक्रमका सहभागी विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरुले महोत्सवमा पाठ्यक्रममा आधारित उद्देश्यमूलक शैक्षिक प्रदर्शनी गर्नुपर्ने, लोकनृत्य प्रतियोगिता गर्नुपर्ने, शैक्षिक प्रद्यर्शनीमा समावेश गरिने विधाहरुबारे विद्यालयहरुलाई प्रष्ट पार्नुपर्ने, प्लास्टिकजन्य सामाग्री निकै कम प्रयोग गर्नुपर्ने र प्रदर्शनीमा विविध शैक्षिक विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुपर्नेलगायतका धारणाहरु व्यक्त गरे ।