७० औं प्रजातन्त्र दिवसः देशभर विविध कार्यक्रम गरी मनाइँदै

विशेष समाचार समाचार

भक्तपुर, ७ फागुन


आज प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । विसं २००७ फागुन ७ गते १ सय ४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ । प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि।सं। १९९७ माघमा बलिदानी दिएका थिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरुलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । जहाँनियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो । दिवसका अवसरमा फागुन ६ गतेदेखि नै तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । उक्त दिन नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने छ ।यस्तै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने गृह मन्त्रालयले जनाएको छ । यस्तै फागुन ६, ७ र ८ गते घर–घरमा साँझ दीपावली गर्न तथा विद्यालय, सङ्घ संस्था, पालिका र प्रदेशमा पनि दिवस मनाउन सरकारले आग्रह गरेको छ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलेसमेत तीनै दिन विभिन्न कार्यक्रम गरी दिवस मनाउने सरकारले जनाएको छ ।यस्तै काठमाडौं उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी दिवस मनाइने छ । प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा प्रदेशस्तरीय समिति र जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा समिति गठन गरी दिवस मनाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *