Wednesday, May 14, 2025

प्यालेस्टाइनी भूमि खोस्ने ट्रम्पको दाउः अब्बासद्वारा विरोध

अन्तर्राष्ट्रिय समाचार

वासिङ्टन, २१ माघ (एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्यपूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसेलमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन् । 

ट्रम्पले उनको मध्यपूर्व शान्ति योजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गरेका हुन् । उनले आफ्नो योजनालाई प्यालेस्टाइनीको निम्ति अन्तिम मौका भनी चेतावनी पनि दिएका छन् ।
शान्ति योजनाको संयुक्त घोषणा त्यतिखेर भएको छ जतिखेर ट्रम्प र नेतान्याहु दुवैले आन्तरिक राजनीतिक चुनौती बेहोरिरहेका छन् । राजनीतिक विश्लेषकले योजनालाई दुवैले आफ्नो निर्वाचन अभियानमा भोट जम्मा गर्ने रणनीतिको रूपमा अथ्र्याएका छन् ।
शान्ति योजनामा इजरायलले ‘महत्वपूर्ण भौगोलिक सम्झौता’ गर्ने र प्यालेस्टिनी राज्यको इलाकालाई युद्धमार्फत इजरायलले कब्जा गरेको जेरूसेलमसहितको प्यालेस्टिनी भूमि बराबर दिने प्रस्ताव गरिएको छ । झट्ट हेर्दा यसलाई आपसी सहमतिमा जमिनको सट्टापट्टा गरी इजरायल र प्यालेष्टिनीबीचको विवादलाई अन्त्य गर्ने योजनाजस्तो मान्न सकिन्छ । योजनासँगै सार्वजनिक गरिएको अवधारणात्मक नक्साले प्यालेस्टिनी राज्यले दावी गर्दै आएको भूगोललाई छुट्टाएको देख्न सकिन्छ । योजनामा इजरायली र प्यालेस्टिनी समुदायको वस्तीहरूलाई जोड्न दुवै पक्षले अनुकुलताअनुसार पुल, सुरूङ तथा सडक मार्ग, जसलाई ‘व्यावहारिक यातायात समाधान’ भनिएको छ, को व्यावहारिक आदानप्रदानको धारणा पेश भएको छ । यसो गर्दा वेस्ट ब्याङ्कको एक चौथाइ जमिन रहेको जोर्डन भ्यालीमा इजरायली पक्षको सार्वभौमसत्ता कायम रहनेछ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको यहुदी वस्ती विस्तार र जेरूसेलमलाई अविभाजित राजधानी बनाउने कडा नीतिको पक्षमा शान्ति योजना आएपछि यसले प्यालेष्टिनीको आफ्नो स्वतन्त्र राज्य निर्माणको आशालाई असम्भव हुने अवस्था देखिएको छ ।
योजनालाई इजरायली प्रधानमन्त्री नेतन्याहुले ऐतिहासिक उपलब्धि भनेका छन् । यो प्यालेष्टाइनसँगै मध्यपूर्वका अन्य मुलुकका लागि बृहत् अवसर हो । “यो इजरायलका लागि र मध्यपूर्वका लागि बृहत् योजना हो ।”
संसारको सबभन्दा लामो समयदेखि जारी द्वन्द्वलाई समाधान  गर्न प्रस्तावित उक्त योजनाको मस्यौदा राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ ज्यारेड कुश्नरको अगुवाइमा भएको हो । कुश्नर यहुदी हुन् ।
ट्रम्पले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्याङ्कका वस्तीमाथि इजरायलको सार्वभौमिकता पनि प्रस्ताव गरे पनि त्यसले प्यालेस्टाइनको भूमि र सार्वभौमिकता दुवै खोस्ने विश्लेषण गरिएको छ  ।
यसैबीच, अमेरिकी योजनालाई प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले प्यालेस्टिनी समुदाय विरूद्धको ‘षडयन्त्र’ भन्दै अस्वीकार गर्नुभएको छ । “म ट्रम्प र नेतान्याहुलाई भन्छु । जेरूसलेम बिक्रीमा छैन । हाम्रा सबै अधिकार बिक्रीमा छैनन् न त त्यसमा लेनदेन हुन्छ । यो षडयन्त्र सफल हुँदैन, “रमल्लाहमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले भने।
मङ्गलबार गाजा क्षेत्रमा हजारौँ प्यालेस्टाइनीले विरोध प्रदर्शन गरेका थिए । योजना सार्वजनिक गर्ने तयारीसँगै इजरायली सेनाले इजरायल अधिनस्थ वेस्ट ब्याङ्कमा सैन्य उपस्थिति थप बलियो पारेको छ ।
साउदी अरेबिया र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन् । साउदी अरेबियाका राजा सलमानले प्यालेस्टाइनी राष्ट्रपतिलाई टेलिफोन गरेर आफ्नो देश प्यालेस्टिनी मुद्दाप्रति कटिबद्ध रहेको पनि बताएका छन् ।
इजिप्टले प्यालेस्टाइन तथा इजरायल दुवैलाई राष्ट्रपति ट्रम्पको शान्ति योजना सचेततापूर्ण विचार गर्न र वार्ता पुनः सुरू गर्न आह्वान गरेको छ । इजिप्टको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् उक्त आह्वान गरेको छ ।
जोर्डनले भने मध्यपूर्वमा शान्ति स्थापना गर्ने एउटै बाटो भनेको सन् १९६७ भन्दा अघिको सिमानाबमोजिम स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हो भनेको छ ।
इजरायलले वेस्ट ब्याङ्क तथा गाजा क्षेत्रलाई सन् १९६७ पछि कब्जा गरेको थियो ।
लेबनानस्थित इरान समर्थित हेज्बोल्लाह समूहले ट्रम्पको योजनाले प्यालेस्टाइनी शरणार्थीको फिर्ता हुने अधिकार तथा प्यालेस्टाइनी जनताको भूमिअधिकार हनन गर्ने भन्दै त्यसलाई थोपर्ने प्रयास भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *