वागीश्वरी माविको ६१औं र वागीश्वरी कलेजको १२औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

विशेष समाचार शिक्षा समाचार

भक्तपुर, ३० मंसिर


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वागीश्वरी माध्यमिक विद्यालयको ६१औं र वागीश्वरी कलेजको १२औं वार्षिकोत्सव कार्यक्रमको सोमवार विद्यालय प्राङ्गणमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नयाँ पुस्ताका विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा पैदा हुँदा देश कमजोर हुने बताए । निर्वाचनको समयमा पैसा दिएर मतदान गर्नु देश हार्नु वा कमजोर बन्नु नै हो भन्दै उनले शासक दलका पार्टीहरूले पैसाको माध्यमबाट चुनाव जित्ने गलत कार्य निन्दनीय भएको बताए ।
विरोधी पक्षसँग संघर्ष र प्रतिरक्षाको निम्ति खेलकुदले महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष बिजुक्छेँले विद्यालयहरूले विद्यार्थीको शैक्षिक क्षेत्र र खेलकुद गतिविधिलाई सँगसँगै अगाडि बढाउन आवश्यक भएको बताए ।
प्रजग कोरियाविरुद्ध नेपाल सरकार जानु भनेको अहिलेको सरकारमा अमेरिकी प्रतिनिधि (एजेन्ट)को घुसपैठ हुनसक्ने आशंका व्यक्त गर्दै नेता बिजुक्छेँले सरकारको उक्त कार्य निन्दनीय र गलत भएको बताए । फासीवादको विषयमा विद्यार्थीहरूलाई सचेत गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
नेमकिपाका संघीय सांसद प्रेम सुवालले सरकार निजी विद्यालय सञ्चालकको प्रभावमा परेको र शैक्षिक माफियाको चंगुलमा फस्दै गइरहेको आरोप लगाए ।


नेपालको संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रावधान हुँदा पनि सरकारले यसतर्फ ध्यान नपु¥याएको बताउँदै सांसद सुवालले प्रदेश नं. ३ को नमूना विद्यालय बन्न सफल बनेकोमा बधाई दिँदै उनले सरकारले सामुदायिक शिक्षा नीतिमा रुची देखाइरहेको छैन, निजीकरण र व्यापारीकरणकै पक्ष लिएको बताए ।
भक्तपुर नपाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कलेज व्यवस्थापन समितिले कलेजको आर्थिक, भौतिक र शैक्षिक गुणस्तर वृद्धि गर्न निरन्तर लागि परेको बताए । उनले खोज र अनुसन्धानमा आधारित शिक्षामा जोड दिनु आजको आवश्यकता भएको बताए ।
भक्तपुर नगरपालिकाले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको लागि शैक्षिक ऋण प्रदान गर्दै आइरहेको र भूगोल, इतिहास, संस्कृतिलगायतका विषयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको बताए ।
नेमकिपाका तर्फबाट प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाइँले विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकबीचको समन्वय र सहकार्यमा यथोचित ध्यान पु¥याउन आवश्यक भएको बताउँदै राजनीतिक रूपमा असचेत जनशक्ति देशको लागि घातक हुने बताए ।


अर्का प्रदेश सांसद सृजना सैंजुले सरकारले सामुदायिक शिक्षा नीतिमा रुची नदेखाउँदा निजी विद्यालय तथा कलेज सञ्चालकहरूलाई फाइदा पुगिरहेको बताउँदै समुदायमा आधारित वागीश्वरी माविले युग सुहाउँदो शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गरिन् ।
वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले समुदायमा आधारित विद्यालयले देशभरिका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै वागीश्वरीलाई देशकै नमूना सामुदायिक विद्यालय बन्न सहयोगी भूमिका निर्वाह गरिरहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा र कलेज प्राचार्य धनकुमार श्रेष्ठले विद्यालय र कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरे ।


प्रमुख अतिथि बिजुक्छेँले २०७६ सालमा दीर्घसेवा पदकबाट विभूषित शिक्षकहरू कृष्णमान मलेपति, सुन्दर बासिजु, शिक्षिकाहरू मिना प्रजापति, शोभालक्ष्मी गोसाई र प्रमिला ढुंगानालाई दोसल्ला ओढाई सम्मान प्रदान गरे ।
कार्यक्रममा संयुक्त परीक्षा समिति तथा बासु माविका प्रअ अम्बिका न्याइच्याई, सिद्धिबीर कर्माचार्य, विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापति, विद्यार्थीको तर्फबाट निशा कोजु, कलेजको तर्फबाट विद्यार्थी राकेश साखकर्मी, पूर्व विद्यार्थी समाजका तर्फबाट सचिव विकल प्रजापतिले शुभकामना मन्तव्य प्रस्तुत गरे । सोही समारोहमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरूले कलेजका उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापका विजयीहरूलाई पुरस्कार, मेडल तथा सम्मानपत्र प्रदान गरेका छन् । औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूद्वारा सांस्कृतिक प्रदर्शनी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *