भक्तपुर जिल्ला बचत सङ्घको १५ औँ साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, ३० मंसिर


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को १५ औँ वार्षिक साधारणासभा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमान बिजुक्छेँले शनिबार एक समारोहबीच उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले गैरसमुदायमा आधारित सहकारी संस्थामा बढी भ्रष्टाचार हुने गरेको कुरा बताउँदै जनताको बचतलाई समुदायमा आधारित सहकारी संस्थाहरूले बढीभन्दा बढी उत्पादनमूलक र सेवामूलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिए । पूँजीवादमा कामदारमाथि भएको शोषणविरुद्धमा सहकारीको अवधारणा विकास भएको कुरा बताउँदै सहकारी संस्थाले आर्थिक लेनदेनमा मात्र सीमित नरही समुदायको बचतलाई शिक्षा, स्वास्थ्य तथा उत्पादनमूलक र पर्यटन विकासमा योगदान पु¥याउनुपर्ने कुरा बताए ।
नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले सहकारीलाई सहज हुने नीति तर्जुमा गर्नुपर्ने विचार व्यक्त गरे। सहकारी ऐनमा कानुनी जटिल रहेमा सामूहिकरूपमा आवाज उठाउनुपर्ने कुरा बताए । जिल्ला सहकारी सङ्घका उपाध्यक्ष कृष्ण बहादुर घजुले सहकारी विभागबाट सहकारीमा सन्दर्भ व्याजदर, सेवाशुल्क र नवीकरण शुल्कनिर्धारण गरिएकोमा सकारात्मक रहेको बताए ।
कार्यक्रममा जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष सनिस लागेजु, सङ्घका निवर्तमानअध्यक्ष राधेश्याम सुवाल, संस्थापक अध्यक्ष राजेन्द्र दुमरुलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
सभाको सभापतित्व गर्दै सङ्घका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले स्थानीय तहबाट सहकारीलाई कर असुल गर्ने निकायको रूपमा मात्र लिन नहुने कुरा बताउँदै सदस्य संस्थाहरूलाई सङ्घमा भएको वित्तीय कारोबार र सूचना तथा जानकारी मोबाइल एप्समार्फत् दिने उद्देश्यले सङ्घको लोगोसहितको मोबाइल एप्स सञ्चालनमा ल्याएको बताए । कार्यक्रममा सङ्घका उपाध्यक्ष हरि बल्लले स्वागत, सचिव जगनाथ प्रजापतिले सङ्घको आ.व. २०७५।७६ को वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कान्छा भक्त घजुले आ.व. २०७५।७६ वित्तीय प्रगति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले आ.व. २०७५।७६ को लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन पेश गरेको थियो । सभाबाट आ.व.२०७५।७६ मा ५७ करोड २८ लाखको कुल सम्पत्ति र १ करोड ३३ हजारको खुद बचतसहितको लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । साथै आ.व.२०७६।७७ को कुल सम्पत्ति ६३ करोड १२ लाख ३२ हजार बजेट पारित गरेको छ । सङ्घको आफ्नै भवन निर्माणको लागि एक करोड बजेट विनियोजन गरिएको थियो ।
उक्त सभामा संरक्षित पुँजी फिर्ता कोषबाट बचत र ऋणको आधारमा अधिकत्तम बचतमा योगदान गर्ने सिद्धि गणेश साकोस, सिमल साकोस र उपकार साकोस र ऋणमा योगदान गर्ने संचित साकोस, लोहकिल्थलीमाता साकोस र बङ्गलामुखी साकोसलाई प्रशंसा पत्र वितरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *