भक्तपुर, २० मंसीर

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरबाट सरुवा भइ जाने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको विदाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाकाको विकास निर्माण, सम्पदा पुनःनिर्माण र सरसफाइ लगायतका काम सहज रुपमा सम्पन्न गर्नका लागि प्रजिअ भट्टले गरेको सहजीकरणको लागि आभार व्यक्त गरे ।
२०७२ सालको विनाशकारी भूकम्प पश्चातको विषम परिस्थितिमा प्रशासनबाट सहयोग नभएकोमा गुनासो गर्दै उनले १९ महिना भक्तपुर जिल्लालाई कर्मठलो बनाई प्रजिअ भट्टले नितान्त जिम्मेवारीपूर्वक काम गर्दै नपाको सकारात्मक विकास निर्माणका प्रयासमा सहयोग गरेकोमा कृतज्ञता ज्ञापन गरे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मौलिक शहर, संस्कृति, विविधतायुक्त संस्कृति, पेशा धर्म र छुटै पहिचान बोकेको भक्तपुरमा सरुवा भएर आउँदा निकै चुनौती अनुभूति गरेको बताउँदै काम गर्ने सिलसिलामा भक्तपुरबाट ठूलो सिकाइ भोगाई प्राप्त भएको बताए ।
नगरपालिकाको नीति तथा योजनाहरु समाजवादी राज्य व्यवस्थाको झल्को दिने खालको भएको बताउँदै प्रजिअ भट्टले भक्तपुर नगरपालिकाले पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ विकास निर्माण, मौलिकता कायम गर्नेदेखि सबै क्षेत्रमा व्यवस्थित ढंगले अगाडि बढेको बताए ।

कार्यक्रममा उपप्रमुख रजनी जोशीले सरुवा भई जाने प्रजिअ भट्ट सकारात्मक सोच, सहज र सरल तरिकाले सहयोग र काम गर्ने कुशल प्रशासक भई फरक पहिचान बनाउन सफल व्यक्तित्व भएको जानकारी दिँदै उनी आफै सहभागी भएर भनपाका कार्यक्रमहरुमा सहभागिता देखाएकोमा धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमममा वडाध्यक्ष उकेश कवांले प्रजिअ भट्टको कार्यकालमा भक्तपुरका पुराना सम्पदा लगायत निजी आवास पुनःनिर्माणमा भएको समन्वयात्मक सहयोगको अभार व्यक्त गर्दै जनप्रतिनिधिहरु र कर्मचारीसँग प्रशासनको राम्रो समन्वय भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र प्रशासन प्रमुख दामोदर सुवालले पनि बोलेको थियो ।
प्रमुख प्रजापतिले प्रजिअ भट्टलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र भादगाउँले कालो टोपी लगाई विदाई गरे ।