भनपा ९ मा भ्रष्टाचार विरोधी आन्दोलन दिवस मनाइयाे

राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३० असार


नेपाल मजदुर किसान पार्टी ९ वडा सूर्यमढी प्रा.स.को आयोजनामा शनिवार भ्रष्टाचार विरोधी आन्दोलन दिवस मनाएको छ ।

वि.सं. २०२५ श्रावण २ र २०२६ असार १९ गते भक्तपुरमा तत्कालीन नवदुर्गा बहुमुखी सहकारी संस्थाका पदाधिकारीहरुले जनताबाट उठाइएका पैसालाई दुरुपयोग गरी भ्रष्टाचार गरेकालाई जनताले उल्टो टोपी लगाई नगर परिक्रमा गरी कारवाही गरेको सम्झनामा यो दिवस मनाइएको हो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं भक्तपुर नगर समितिका अध्यक्ष नारायण बहादुर दुवालले विगतको इतिहासबाटै भ्रष्टहरुलाई विभिन्न किसिमबाट जनस्तरबाट कारबाही गरेकै कारण भक्तपुरमा अहिलेसम्ममा भ्रष्टाचार गर्नेहरु डराएको स्पष्ट पारे । उनले पार्टीका सदस्यहरु पार्टीका सैनिक रहेको बताउँदै देशका विभिन्न ठाउँमा किसानको हकहितमा विभिन्न आन्दोलनहरु गरेकै कारण जमिन्दारहरु रिसाएको स्मरण गरे । साथै जनतालाई धोखा दिएर भ्रष्टाचार गरेकै कारण मंगलेचा चौगुठी र कृष्णभक्त भैलजस्तालाई जनताले कारबाही गरेको बताए ।


नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्वले भ्रष्टहरुले आफ्नो कर्तुत लुकाउन विभिन्न क्रियाकलाप गरिरहेको बताए । उनले विद्यार्थी जीवनबाटै समाजवादी व्यवस्थाले जनतालाई पारेको सकारात्मक प्रभावबारे अध्ययन गराउनुपर्नेमा जोड दिए । नेपालमा राजनीतिक पार्टीहरु सत्ताको लुछाचुडीमा लागेको बताउँदै उनले नेताहरुले गल्ती गरेपछि देश नै ध्वष्ट हुने स्पष्ट पारे । साथै उनले बचतकर्ताको पैसा गलत ठाउँमा प्रयोग भएकै कारण उल्टो टोपी लगाउनुपरेको बताए ।


आयोजक समितिका अध्यक्ष दिलभक्त कोजुले सहकारी संस्थाले किसानका लागि काम गर्नुपर्नेमा अहिले घरजग्गा किनबेच जस्ता गलत क्षेत्रमा लगानी गरेकै कारण देशमा अरबौं रकम लिई सहकारी संस्थाहरु भागेको स्पष्ट पार्नुभयो ।


समितिका उपाध्यक्ष काशिलाल प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा सचिव लक्ष्मी प्रसाद कुसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *