पर्यटक पर्खदैँ मालिका लेक

पर्यटन समाचार

सल्यान, १५ मंसिर


सल्यानको दार्मा गाउपालिका वडा नम्बर ४ मा रहेको पर्यटकीय महत्वको ऐतिहासिक धार्मिकस्थले मालिका लेक ओझेलमा परेको छ । संरक्षण र पूर्वाधार अभावमा समुद्र सतहदेखि १ हजार ७ सय मिटर उचाइको पर्यटकीय क्षेत्र ओझेलमा परेको हो । लेकमा वर्षेनी दसैंको पञ्चमी र मंसिर पूर्णिमामा मेला लाग्दै आइरहेको छ ।
१६८० सालदेखि कालिका र मालिका भगवतीको मन्दिर बनाइ लेकमा पूजा गर्न थालिएको किंवदन्ती छ । पूर्वाधार निर्माण हुन नसक्दा ऐतिहासिक महत्वको मालिका लेक ओझेलमा परेको संरक्षण समितिका अध्यक्ष अध्यक्ष असवीर बुढाथोकीले बताए । उनका अनुसार अहिले कालिका मन्दिर जीर्ण बनेको छ भने मूर्ति चोरी भइसकेका छन ।
स्थानियका अनुसार बाईसे र चौविसे राज्यका बेला सल्यान, जाजरकोट र जुम्लाका राजाले मालिका लेकमा वर्षको एक पटक अनिवार्य रुपमा पूजा गर्थे । मालिका भगवती मन्दिरमा फुटेर टाउको मात्र बाँकी रहेको घण्टा १९९० सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले चढाएका थिए ।
अध्यक्ष वुढाथोकीका अनुसार २०७४ सालमा मालिका लेकमा नयाँ मन्दिर निर्माण गरिएपछि भक्तजनको भीड बढ्दै गएको छ । लेकलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न स्थानीय तह गठनपछि मन्दिर र प्रतिक्षालय निर्माण गरिएको उनले जानकारी दिए । एक सय २० हेक्टर क्षेत्रफलमा फैलिएको मालिका क्षेत्रको संरक्षणका लागि सरकारी निकायले लामो समयदेखि बेवास्ता गरिरहेको उनको गुनासो छ ।
ओझेलमा परेको मालिका लेकलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । नयाँ मन्दिर निर्माणका लागि चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाले यस वर्ष मालिका क्षेत्रको संरक्षणका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको जनाएको छ । उक्त रकमबाट पर्यटन विकासका लागि डिपिआरको काम हुने गाउँपालिका अध्यक्ष नीम बहादुर केसीले जानकारी दिए । मालिका लेकबाट जाजरकोट, पश्चिम रुकुम, रोल्पा र दैलेख जिल्लाका अधिकांश भाग देख्न सकिने भएकाले भ्यूटावर निर्माणको योजना अगाडि बढाइएको उनले जानकारी दिए ।
चालु आर्थिक वर्षमा नै खानेपानी र बिजुली र्पुयाउन गाउँपालिकाले रकम विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *