मौसमी जोखीमका कारण घट्यो बीउ उत्पादन

समाचार

रुकुम, ५ कार्तिक


रुकुममा तरकारी बीउ उत्पादन घटेको छ । मौसमी जोखीमका कारण बीउ उत्पादनमा घटेको तरकारी बीउ केन्द्र चाँफाले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा केन्द्रले लिएको लक्ष्य भन्दा आधा बीउ उत्पादन भएको छ । गत आर्थिक वर्षमा केन्द्रले मुल बीउ १ हजार ४ सय ५० केजी र उन्नत बीउ ६ सय ५० केजी उत्पादनको लक्ष्य राखेको थियो । जसमध्ये मुल बीउ ६ सय १४ केजी र उन्नततर्फ आधाभन्दा कम मात्रै उत्पादन भएको केन्द्रका प्रमुख किशोरमान श्रेष्ठले जानकारी दिएका छन् । ‘गत आर्थिक वर्षमा लक्ष्य राखिएको भन्दा आधा भन्दा कम बीउ उत्पादन गर्न सकियो,’ केन्द्र प्रमुख श्रेष्ठले भने, ‘बीउ उत्पादन गर्ने कुरामा मौसमी जोखिम हुन्छ । बीउ उत्पादनमा कमी हुनको मुख्य कारण असिना पानी नै हो ।
गत आर्थिक वर्षमा लक्ष्यअनुसार बीउ उत्पादन नभएपछि केन्द्रले चालु आर्थिक वर्षमा भने तरकारीको उत्पादन बढाउने गरी लक्ष्य राखेको छ । केन्द्रले चालु आर्थिक वर्षमा प्रजनन् बीउ १८ दसमलव २ केजी, मुल बीउ १ हजार ६ सय ५० केजी र उन्नत बीउ ८ सय केजी उत्पादनको लक्ष्य कायम गरेको छ । असिनापानीबाट जोगाउन सके लक्ष्य अनुसार बीउ उत्पादन गर्न सकिने श्रेष्ठले बताएका छन् ।
असिनाको रोकथाम तथा अरु किराहरू नियन्त्रण गरेर बीउ उत्पादन बढाउने गरी कार्यक्रम तय गरिएको उनको भनाइ छ । उत्पादित तरकारीको बीउ बिक्री गरेर गत आर्थिक वर्ष केन्द्रले १३ लाख ८६ हजार ५ सय ९३ रुपैयाँ राजश्व संकलन गरेको छ । उक्त वर्षमा १६ लाख २९ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको थियो ।
केन्द्रले मुल बीउतर्फ काउलीको काठमाडौं स्थानीय, रायोको खुमल चौडापात, मूलाको मिनोअर्ली, प्याजको रेड क्रियोल, सलगमको पर्पल टप, केराउको सिक्किम लोक र आर्केल जातको बीउ उत्पादन गर्दै आएको छ । उन्नततर्फ बोडीको मालेपाटन, घीउ सिमी चौमासे र त्रिशुली, झ्याङे सिमीको कन्टेन्डर, भिण्डीको पार्वती, स्वीसचार्डको फोर्डहुक जायन्ट र धनियाँको स्थानीय चम्चुरको स्थानीय जातको बीउ उत्पादन गर्ने गरेको छ ।
२०३५ सालमा समशीतोष्ण तरकारी बीउ उत्पादन केन्द्रको नामबाट स्थापना भएको यो केन्द्र हाल तरकारी बीउ उत्पादन केन्द्र मात्रै छ । चालु आर्थिक वर्षमा केन्द्रका लागि ४ करोड ५६ लाख ३१ हजार बजेट विनियोजन भएको छ । यो बजेट केन्द्र स्थापना भययताकै ठूलो भएको केन्द्रले जनाएको छ । केन्द्रबाट उत्पादित बीउ रुकुम पश्चिमको साथै रुकुम पूर्व, सल्यान, दाङ, रोल्पा, प्यूठान, जाजरकोट, सुर्खेत, नेपालगन्ज र काठमाडौं लगायतका निकासी हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *