कोशी राजमार्गको सडक खाल्डाखुल्डी

समाचार

धरान, २८ कार्तिक


सडक विभागको ढिलाईले धरान स्थित कोशी राजमार्गमा पर्ने भोटेपुलको सडक मर्मत सम्भार हुन सकेको छैन् । स्थानीय निकायले मर्मत गर्न सक्ने भए पनि बेरुजुमा पर्ने भए पछि धरान उपमहानगरपालिका पनि सडक विभागलाई नै पर्खनु पर्ने बाध्यतामा रहेको छ ।
धरान हुँदै जाने कोशी राजमार्गको खाल्डाखुल्डी मर्मत हुन नसक्दा एकातिर सडक दुर्घटनाको जोखिम रहेको छ भने अर्को तिर दैनिक हजारौं संख्यामा कुदने सवारी साधनले धुलो उठाउँदा स्थानीय आक्रोशित छन् । कोशी राजमार्गको मर्मत सम्भारको जिम्मेवारी सडक विभागको हो । तर विभागले समयमै काम गर्न नसक्दा स्थानीयले सास्ती भोग्नु परेको छ । स्थानीय निकायले आफै पनि सडक मर्मत गर्न सक्थ्यो तर बेरुजुमा पर्ने भए पछि विभागलाई पर्खनु पर्ने बाध्यतामा रहेको छ । सडक विभागलाई पटक पटक मर्मतका लागि आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताईन् ।
धरानमा निर्वाचित जनप्रतिनिधीहरु आईसके पछि तत्कालिन नगर प्रमुख तारा सुब्बाले वडा नम्बर १ को ड्रेन र सडक मर्मत गर्न निर्देशन दिएका थिए । धरान उपमहानगरपालिकाको बजेटबाट सडक मर्मत त भयो तर बेरुजुमा परेर अझै अख्तियार धाउनु पर्ने बाध्यता रहेको छ । अर्काको क्षेत्राधिकारको काम गर्दा समस्या हुने भएकाले कोशी राजमार्गको सडक मर्मत गर्न धरानले सडक विभागनै कुर्नुपर्ने बाध्यता रहेको कार्यवाहक प्रमुख भण्डारीको भनाई छ ।
कोशी राजमार्ग अन्तर्गत धरानमा सेउती खोला देखि धरान १३ को बेस क्याम्प सम्मको क्षेत्रका सडकको मर्मत तथा निर्माणको क्षेत्राधिकार सडक विभागकै रहेको छ । नगरको बजेटबाट कुनै पनि खर्च गर्न पाइन्दैन् । त्यसैले पनि सडक विभागलाई पर्खनु परेको उनले बताईन् । उनले भनिन्, हामीले पटक पटक सडक विभागको डिई संग कुराकानी गरेका छौं, धरानका वडाअध्यक्षहरुको टोलि डेलिगेसन पनि गएको थियो, बनाउने भन्छ, तर बनाउँदैन, हामीलाई पनि बनाउन दिदैन् ।
धरान उपमहानगरपालिका सडक निर्माणमा देशकै लागि उदाहरणिय बनेको छ । तर पनि सरकारको कानुनी जटिलताले आफै मर्मत गर्न सकेको छैन् । विभागले स्थानीय निकायलाई मर्मतको जिम्मेवारी दिए स्थानीयले समस्या भोग्नुपर्ने अवश्था नआउने थियो । धरानलाई क्षेत्राधिकार दिइने हो भने भोलि देखिनै सडक मर्मतको काम शुरु हुने उनको भनाई छ ।
धरान ८ स्थित भोटेपुलको बाटो हुँदै दैनिक सभामुख, संघीय संसद, प्रदेश संसदहरु हिड्ने गर्छन् । तर पनि सडक मर्मतमा चासो नदिएको स्थानीयको गुनासो पनि बढ्दै गएको छ । धरानका स्थानीयवासीको गुनासो बढ्न थाले पछि सभामुख प्रदिप कुमार भण्डारीको पहलमा सडक मर्मतका लागि बजेट विनियोजन भईसकेको छ ।
सभामुख भण्डारीका अनुसार दशै अघि सम्म अस्थाई रुपमा टालटुल गर्ने विभागले प्रतिबद्धता गरेको थियो । सोही अनुसार सामान्य टालटुल गर्ने काम पनि भयो । त्यसलाई दिर्घकालीन रुपमा सडक निर्माण गर्न अब केही दिन भित्रै शुरु हुने उनले बताए । भोटेपुलमा परेका खाल्डाखुल्डीहरु मर्मत गर्न प्रदेश सरकारले २ करोड ९० लाख रुपैया बजेट विनियोजन गरिएको उनले बताए । सडक मर्मतका लागि ठेक्का पनि लागिसकेको उनको भर्नाइ छ । उनले भने, बाटोको साईज बढ्ने होईन, मर्मत गर्नका लागि हो ।कोशी राजमार्गको बाटो बिस्तारको कारण पनि ढिलाई भएको सभामुख भण्डारीले बताए । ६ लेन सडक बनाउने विषय छलफलकै क्रममा रहेकाले बजेट विनियोजनमा केही समस्या आएको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *