भक्तपुर, १२ असोज
वागीश्वरी कलेज तथा माविमा अध्यापनरत शिक्षकहरुबीच विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रक्षामन्त्रीद्वारा भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा निरीक्षणको सन्दर्भमा बोल्दै भक्तपुर नगरपालिकाले भक्तपुरको १०८ रोपनी जग्गाको संरक्षण नेपाल ट्रष्टलाई जानकारी दिई उक्त ठाउँमा भइरहेको जथाभावी पार्किङ, अनियमितता र फोहोरका कारण हुने वातावरण प्रदूषण नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले नियमसङ्गत रूपमा उक्त जग्गाको चारैतर्फ पर्खाल बनाउने कार्यको थालनी गरेको बताए ।
स्थानीय सरकारको हैसियतले भक्तपुर नगरपालिकाको क्षेत्राधिकारभित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्नु नगरपालिकाको कर्तव्य भएको बताउँदै उनले जनताको सम्पतिमाथि भएको अतिक्रमणलाई नगरपालिकाले नियमन गरेको बताए ।
नेपालका सांसदहरुको तलब सुविधा वितरण गर्न भारतको पञ्जाब बैंकसित समन्वय भएको एभरेष्ट बैंकलाई सिंहदरवारभित्र राख्न दिएको विषयलाई लिएर नेमकिपाले निरन्तर विरोध गरेपछि अहिले सिंहदरवारभित्र वाणिज्य बैंक पनि राखेको बताए ।
‘वि.सं. २०८१ सालसम्ममा नेपालको नीजी लगानी ५५ प्रतिशत पु¥याउने घोषणा गर्ने नेकपाले चिनिया राष्ट्रपति नेपाल भ्रमणको संघारमा सि चिन फिङ विचारधाराबारे प्रवचन राख्नुको कुनै औचित्य छैन ।’ उनले भने, ‘वास्तविक कम्युनिष्टहरु निजीकरणको पक्षमा नभई राष्ट्रियकरणको पक्षमा उभिन्छ ।’
कलेजलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउने साझा उद्देश्यले अघि बढ्न अध्यापनरत शिक्षकहरुलाई अनुरोध गर्दै उनले वागीश्वरी कलेज सस्तो, गुणस्तर र २१ औं शताब्दीको लागि योग्य नागरिक तयार गर्न तत्पर रहेको बताए ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले समाजप्रति नयाँ पुस्ताको कम चासो, विदेश मोहमा बढ्दो रुचीमा चिन्ता व्यक्त गर्दै समाजप्रति आशा गर्ने ठाउँहरुको बारेमा शिक्षकहरुले विद्यार्थीहरुलाई बताउनुपर्ने आवश्यकता औंल्याए ।
भक्तपुर क्यान्सर अस्पतालमा भक्तपुर नगर प्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठनमा अस्पतालका कर्मचारी, नर्स, डाक्टर र बिरामीहरु सबै सन्तुष्ट भइरहेको बताउँदै उनले यसको विरुद्धमा भ्रष्टाचारका मतियारहरु मात्र लागिरहेको बताए ।
स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुले अति मिहिनेत गरेर तयार पारेका शोधपत्रहरुलाई सामाजिक सम्पतिको रुपमा प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन यसले थप सहयोग गर्ने बताए ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेजको हालसम्मको प्रगति विवरणबारे प्रस्तुती दिएको थियो ।
वागीश्वरी माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले दृढ सङ्कल्प भए कुनै पनि काम पूरा गर्न सकिन्छ भन्दै सबैले पैसाभन्दा पेशामा इमान्दार र सामाजप्रति उत्तरदायी हुन आवश्यक भएको बताए ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको कार्यक्रममा कलेजका इन्चार्ज ग्याहेन्द्र प्रसाद दाहाल, शिक्षक राजन चौगुठी, बब्लुकुमार राउत, विद्यालयका प्रशासन अधिकृत तुल्सीराम प्रजापतिले शुभकामना व्यक्त गरेका थिए ।