धरान, १२ असोज
चाडपर्व शुरु भएसँगै धरानको कृषिउपज बजारमा खसी, बोका, भेडा, किन्ने उपभोक्ता र बेच्नेको भीड बढेको छ । दशै नजिकिदै गए पछि हप्तै पिच्छे २५ प्रतिशतका दरले खसी बोकाको कारोबारमा वृद्धि भएको छ ।
बजारका अनुसार नजिकिदै गरेको दशैको दोस्रो शुक्रबार ८ सय गोटामा अनुमानित २० केजीका दरले करिब १६ हजार केजी खसी बोकाको खरिद बिक्रि भएको छ । धरान स्थित कृषि उपज बजार स्थलका अनुसार करिब प्रति केजी ५ सय रुपैयाँका दरले ८० लाख रुपैयाको कारोबार भएको छ । अघिल्लो शुक्रबारको तुलनामा २५ प्रतिशतले वृद्धि हुँदै गएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार अघिल्लो शुक्रबार ५ सय गोटा खसी बोकाको विक्री भएको थियो ।
बजारको तथ्यांक अनुसार यस वर्ष भदौ महिनासम्ममा १ सय ३० मेट्रिक टन ६ हजार ५ सय गोटा खसि बोकाको विक्री हुँदा ६ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो वर्षको भदौसम्ममा ५ हजार ७ सय गोटाको १ सय १२ मेट्रिक टनको ५ करोड ५० लाख रुपैयाँ कारोबार भएको थियो । अघिल्लो आर्थिक वर्षमा औसत ५ सय ६० टन ३० हजार ४ सय गोटा खसीबोका विक्री हुँदा २८ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो । यस वर्ष ५० प्रतिशतले कारोबार वृद्धि हुने अनुमान गरिएको भट्टराईको भनाई छ ।
पूर्वी पहाडी जिल्लाहरू भोजपुर, संखुवासभा, खोटाङ, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरीका पशुपालकले विक्रीका लागि धरान स्थित कृषि उपज बजार स्थलमा खसी–बाख्रा, भेडा, ल्याउने गरेका छन् । दशै मुख्य कारोबार हुने समय भएकाले २÷३ दिन अघि देखिनै बजारमा खसी बोका ल्याउने गरिएको छ ।
सरकारले भारतीय खसी बोकालाई आयातमा कडाई (भेटेरीनरी जाँच ब्यबस्था)गरे पश्चात यस बर्षदेखि काठमाडौं पनि ठूलो मात्रामा खसी बोका निर्यात भई रहेको छ । प्रति हप्ता करिब २ देखि ३ टन करिब १ सय २५ गोटा औसतमा २५ लाख बराबरको राजधानी निर्यात भईरहेको भट्टराईले बताए ।
कोशी पहाडी जिल्लाबाट खसीबोकाहरु ल्याउने किसानहरुका लागि बजारमै सशुल्क सुत्ने बस्ने व्यवस्था गरिदिएकाले पनि कृषि बजारमा २÷३ दिन अघिनै कृषकहरु आउने गरेका छन् । खसी बोकाको लागि सुरक्षित गोठको व्यवस्था बजारले गरिदिएको छ ।
चाडबाड लाई लक्षित गरी धेरै मात्रामा धरान स्थित कृषि उपज बजार स्थलमा खसी बोकाको खरिद विक्री हुने गरेको छ । खसी, बोकामा ढूवानी मैत्री सवारी साधनको ब्यबस्था गर्न नसक्दा ब्यपारी कृषकहरुले बजारसम्म पुर्याउँदा अनावश्यक कर र समस्या बेहोर्नु परेको छ ।