भक्तपुर, २९ भदौ
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा होटेल एसोसियसन भक्तपुरको पहिलो वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।सभामा नगर प्रमुख प्रजापतिले होटल व्यवसायमा युवा पुस्ताको आकर्षण र पुरानो पुस्ताबाट नया पुस्तामा हस्तान्तरण हुनु खुसीको विषय भएको बताए।नेपाल भित्रिने पर्यटकलाई भक्तपुर भ्रमण गराउन नपाले विभिन्न पर्यटक लक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइरहेको उनले जानकारी दिए ।प्रमुख प्रजापतिले भने, “पर्यटकीय गन्तव्यस्थल नगरकोट जाने सडकका ठेकेदार प्रचण्डको घरबेटीलाई संरक्षण गर्न शासक दलका नेताहरू लागिपर्नु लज्जाको विषय हो ।”भिजिट नेपाल २०२० बारे सरकारले आवश्यक सहयोग गर्न सकिरहेको छैन भन्दै उनले पर्यटन व्यवसाय प्रवद्र्धनलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याए ।सम्पदा संरक्षण र पुनः निर्माणमा भनपाले विदेशीको सहयोगविना नै कार्य सम्पन्न गरिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भने, “पुर्खाले सिर्जेको कला–संस्कृति र सीपहरू नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लानुपर्छ । नगरपालिकाले यसै वर्ष भक्तपुर महोत्सव गर्ने योजना राखेको छ । होटल एसोसियसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले नेपालको पर्यटनमा भक्तपुरको विशिष्ट स्थान रहेको र विदेशी पर्यटकहरूको भक्तपुरप्रति आकर्षण रहेको बताए ।नेपाल भित्रिने पर्यटकहरूको लागि होटलको स्तर वृद्धि गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिए ।कार्यक्रममा होटल एसोसियसन भक्तपुरका अध्यक्ष सत्यराम सुवाल, नेपाल भ्रमण वर्ष २०२० का प्रदेश नं। ३ संयोजक अनिल लामा, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापति, आयोजक समितिका कोषाध्यक्ष सुजन हाडा, अरुणदय प्रजापति र कृतन अवालले पनि बोलेको थियो ।कार्यक्रममा अतिथि प्रजापतिले भक्तपुरका पहिलो उद्योग–व्यवसायी रामप्रसाद प्रजापति र वाद्यवादक इन्दिरा लाछिमस्यूलाई सम्मान गरेको थियो ।