प्रधानमन्त्री कार्यालयमा डेंगु रोगसम्बन्धी बैठक

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

भक्तपुर, २५ भदौ


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डेंगु रोगका कारण भक्तपुरमा रोगीहरुको संख्या बढ्न थालेको बताउँदै भक्तपुर नगरभित्र ३६ जना र भक्तपुर जिल्लाभित्र ४९ जना बिरामीहरु देखिएको बताए ।
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा मंगलबार डेंगु रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नपाले डेंगु रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण, खाल्डाखुल्डी पुर्ने र चुन तथा फिनेल छर्ने कार्यहरु गर्दै आएको र घरदैलो नर्सिङ सेवामार्फत् डेंगु रोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उनले डेंगु रोगको त्रासले गर्दा जनताहरु सामान्य ज्वरो आउँदा पनि अस्पतालमा उपचारको निम्ति आउने गरेको बताउदै डेंगु रोगको त्रासभन्दा पनि सचेतना कार्यक्रम सञ्चालनको लागि सरकारको ध्यानाकर्षण गराए ।
काठमाडौं महानपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाले डेंगु रोगको बारेमा घरदैलो कार्यक्रम गरी सूचनामूलक पर्चाहरु बाड्ने अभियान सञ्चालन गरेको र जोखिम भएका ठाउँहरुमा मटितेल र फिनेल छर्ने कार्यलाई अगाडि सारेको बताए । डेंगु रोगका विज्ञको अभाव भएका कारण आवश्यक जनशक्ति भएर पनि यस रोग नियन्त्रणको लागि केही गर्न नसकेको बताउदै उनले डेंगु रोग नियन्त्रण गर्न सरकारले नै नसक्ने भनी आत्मसमर्पण गर्नु उचित भएको बताए।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव पुष्पा चौधरीले डेंगुको शंका लागेमा तुरुन्त रगत जाँच गर्नुपर्ने र टोल–टोलमा यस रोगबारे सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सकेसम्म फगिङ (किटनाशक विषादी प्रयोग) नगर्न आग्रह गरे।
किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले डेंगु रोगसम्बन्धी सञ्चारमाध्यमले आवश्यकताभन्दा बढी नकारात्मक प्रचार गरेको भन्दै जनमानसमा यस रोगसम्बन्धी फैलिएको त्रास हटाउन श्रव्यदृश्य र अनलाइन मिडियामार्फत् सचेतना कार्यक्रमहरु गर्नु आवश्यक भएको बताए ।
कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुले उपत्यकाको जलवायु परिवर्तनका कारण जोसुकै पनि डेंगुबाट प्रभावित हुन सक्नेतर्फ सचेत हुनुपर्ने बताउदै डेंगु नियन्त्रणको लागि खाल्डाखुल्डी पुर्ने, डेंगुको लार्भा खोजी नष्ट गर्ने, फगिङ (किट्नाशक औषधिको प्रयोग) गर्नु हानिकारक हुनेलगायतका धारणाहरु व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *