ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा अभिमुखीकरण कार्यक्रम

विशेष समाचार शिक्षा समाचार स्वास्थ्य

भक्तपुर, १८ भदौ


भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा जनताको पनि लगानी रहेको र त्यहाँ अध्ययनरत विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्वबोध हुनुपर्ने बताए ।
बुधबार ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नर्सिङ पेशामार्फत व्यापक दृष्टिकोण राखी बहुसंख्यक जनताको हितमा काम गर्न प्रेरित गर्दै नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरुको व्यवहार राम्रो हुनुपर्ने, सरसफाइमा र अनुशासनमा ध्यान दिनुपर्ने बताए ।
नयाँ पुस्ताका विद्यार्थीहरुमा विदेश जाने, धेरै पैसा कमाउने, बिलासी जीवन जिउनेजस्ता सुविधाभोगी बानी विकास भइरहेकोप्रति सचेत पार्दै प्रमुख प्रजापतिले आफ्नो मिहिनेत र सीप देशकै माटोमा प्रयोग गर्न मार्गनिर्देशन गरे ।
प्रमुख प्रजापतिले भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक हिनामिनाका कारण अस्पताल घाटामा गइरहेको र सञ्चालक समितिहरुले नाफा कमाइरहेको स्थितिले गर्दा क्यान्सर रोगीहरुले महँगोमा उपचार सेवा लिन बाध्य भएको बताए । डेंगु रोगबारे र त्यसबाट बच्ने सुरक्षाका उपायबारे जनतालाई सचेत गर्नु आवश्यक भएको उनले बताए ।


भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् कलेज व्यवस्थापन समितिका सदस्य रबिन्द्र ज्याख्वले नर्सिङका विद्यार्थीहरुलाई अध्ययन सँगसँगै सामाजिक गतिविधिहरुमा पनि सहभागिता जनाउन मार्गनिर्देशन दिए । उनले नर्सिङ अध्ययन गरी देशमै सेवा गर्ने उद्देश्य राख्नुपर्ने र समाजको सेवा गर्ने भावनाको विकास गर्नु आवश्यक भएको बताए ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले विद्यार्थीहरुले धेरै समय सामाजिक सञ्चालमा खर्चिंदा पढाइमा असर पुग्ने र पढाईप्रति ध्यान नजाने हुँदा यसतर्फ विद्यार्थीहरुलाई सचेत आग्रह गरे ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका विभागीय प्रमुख सुमित्रा बुढाथोकीले विषयवस्तुको ज्ञान, आत्मविश्वास र मिहिनेतले नै योग्य नर्स बन्न सघाउन पु¥याउने जिकिर गर्दै लगानशील नर्स तयार गर्न कलेज प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा ख्वप बहुप्राविधिक पहिलो वर्षका इन्चार्ज शोभामैया प्रजापति र शिक्षिका शोभा प्रजापतिले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *