तुलसा कार्की
धुनीबेसी, १७ असार
बाघ, चितुवा तथा बाँदरको विगविगी त सामान्यतया हामीले सुन्दै आएका छौं । तर कुकुरको विगविगीत कमै सुनेका छौं र यो सायद धुनीवेसी नगरपालिकामा पहिलो पटक होला । कुकुर खोरमै आएर खसी, बाख्रा मार्ने तथा उनीहरुको मासु खाने गरेको छ । जस्ले गर्दा वडा नं. १ र २ का स्थानीयबासीहरु एकदमै ग्रसित अवस्थामा छन् भने अहिले सम्म धेरैको क्षति भएको कुरा स्थानीय बासी असोक बास्कोटाले बताए ।
गाउँमा कुकुर पसेर खसी बाख्रा खोरमै आएर मार्ने गरेकाले स्थानीय ग्रसित छन् । उनीहरुले अन्य कुरामा समय दिन सकीरहेका छैन । केही महिना अगाडि देखि यस्ता समस्या देखिरहेता पनि हाल आएर भने यस्ले विकराल रुप लिएको छ । पहिला ६ वटा कुकुरले पुरै गाउँलाईनै आतंकित पारेको छ भने स्थानीयहरुले नै ३ वटा कुकुर मारिदिएका छन् भने अझै ३ वटा कुकुरले गाउँ आतंकित बनाइरहेको छ । कुकुर आतंकले सयौं किसान ग्रसित छन् । स्थानीय कान्छी मिजार भन्छिन, मेरो त २ वटा बाख्रा खोरबाटै आक्रमण गरेर खाइदियो, अब अरु काममा जाने कि घरमै बाख्रा कुरेर बस्ने ? स्थानीयहरुले वडा कार्यालय घेर्दा समेत केही पहल भएन साथै नगरका मेयरलाई समेत फोन गरेर भन्दा कुकुर मार्ने अधिकार नगरपालिकाको नरहेको बताए पछि जनप्रतिनिधिहरु जिम्मेवार नभएकोमा दुखेसो व्यक्त गर्दछन् स्थानीय सालिकराम बास्कोटा । विगत दुई वर्षदेखि नै धुनीबेसीमा यो समस्या भएतापनि गत ६ महिना देखि भने यस्ले विकराल रुप लिंदा पनि सम्बन्धित निकायले ध्यान दिएको छैन ।