नगर प्रमुख सुनिल प्रजापतिद्वारा लिवाली कभर्ड हलको शिलान्यास

समाचार स्वास्थ्य
भक्तपुर, ५ असार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर न.पा. वडा नं. ८ लिवाली कभर्ड हलको शिलान्यास गरे ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले युवा पुस्तालाई खेलकुद क्षेत्रमा अभिपे्ररित गर्न सके समाजमा विकृति–विसंगति हट्ने विचार राख्दै भक्तपुर नगरपालिकाले शारीरिक ब्यायामका सामग्रीहरु सबै वडा जडान गरिसकेको र  विद्यालय तथा कलेज क्षेत्रमा राख्दै जाने बताए । शिक्षित र स्वस्थ व्यक्तिले समाजलाई बढी योगदान गर्न सक्ने बताउँदै उनले नगरपालिकाका काम व्यवस्थित सञ्चालनमा स्थानीय जनताको साथ र सहयोग भइरहेको जानकारी गराए ।
खेलकुद क्षेत्रमा भौतिक पूर्वाधार अभावका कारण राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न समस्या भइरहेको बताउँँदै प्रमुख प्रजापतिले तालिम प्राप्त खेलाडीहरुले भक्तपुरलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्नेछ – उनले भने ।
भक्तपुर न.पा.का उपप्रमुख रजनी जोशीले नगरपालिकाले घर–घरमा नर्सिङ सेवा, सरसफाई र खेलकुदका क्षेत्रमा गरेको कामबाट समाजमा रोग न्युनीकरण हुने बताउँदै भक्तपुरमा विभिन्न खेलको पूर्वाधार निर्माणले युवा पुस्ता फूर्तिलो र स्वस्थ हुने बताए ।
भनपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले स्थानीय जनताको साथ–सहयोगमा विकासका कार्यहरु भइरहेको बताउँदै नगरपालिकाको गतिविधिबारे स्थानीय जनता जानकार हुनुपर्ने बताए ।
भ.न.पा. वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले खेल क्षेत्रमा प्रगति एवं विस्तार गरिरहेको बताए ।
लिवाली कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर बासीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुनिल बोहजूले पनि बोलेको थियो । कार्यक्रममा वडा नं. ९ वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा नं. ४ वडाध्यक्ष कुमार चवाल, नेमकिपा वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद कोजू र स्थानीय जनताको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *