भक्तपुर नगरपालिकाद्वारा चित्तपोलको ल्योसिंगुमा ४०० रुख वृक्षारोपण

विशेष समाचार समाचार
भक्तपुर,२३ जेठ
विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिकाले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको ल्योसिंगु
(लिंगो गुठी सामुदायिक वन, चित्तपोल) मा बुधबार ४०० वटा सल्लाको रुख वृक्षारोपण गर्याे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालनको लागि नभई नहुने वन (ल्योसिंगु) लाई संरक्षण र हराभरा बनाउन नगरपालिकाले अघिल्लो वर्ष पनि वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको स्मरण गर्दै सामुदायिक वन–जंगल सभ्यता र संस्कृतिसँग जोडिएको हुँदा यसको संरक्षण गर्नु आवश्यक भएको बताए ।
वृक्षारोपण गर्नुभन्दा पनि त्यसको संरक्षण र हुर्काइमा विशेष ध्यान दिनुपर्ने औंल्याउँदै प्रमुख प्रजापतिले भने ‘मानव जीवनको श्वासप्रश्वासमा सन्तुलन कायम गर्न बोट–विरुवा सन्तुलित रुपमा काट्ने र रोप्ने व्यवस्था गर्नुपर्छ ।’
नगर स्वच्छ बनाउन हरियाली व्यवस्थापन महत्वपूर्ण हुने बताउँदै प्रमुख प्रजापतिले भक्तपुरको सुन्दरता कायम गर्न नगरपालिका पोखरी सरसफाइ, वृक्षारोपण, ढुंगेधारा उत्खनन् र सम्पदा संरक्षण कार्यलाई प्राथमिकता दिएर अगाडि बढिरहेको बताए ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले संस्कृति जोगाउन वातावरण संरक्षण गर्नु आवश्यक भएको बताउँदै नयाँ पुस्तालाई पनि संस्कृति संरक्षणको कुराहरू सिकाउँदै लानुपर्ने र भक्तपुर जिल्लाका चारवटै नगरहरू सफा र स्वच्छ बनाउने उद्देश्यले वृक्षारोपण कार्यलाई जोड दिएको बताए ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले बढ्दो प्रदूषणले मानव जीवनमा नकारात्मक असर पु¥याइरहेको चर्चा गर्दै मानव सभ्यता अगाडि बढाउन वातावरण संरक्षण आवश्यक भएको बताए ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रबिन्द्र ज्याख्वले उपत्यकाका संस्कृतिलाई निरन्तर चलाउन ऐतिहासिक महत्व बोकेको जंगल जोगाउनु आवश्यक भएको बताए ।
लिंगो गुठी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेखर खड्काले उपत्यकाका ऐतिहासिक जात्रा सञ्चालनको निम्ति ल्योसिंगुबाट लगिएका रुख प्रयोग हुने भएको बताउँँदै वन संरक्षणको औंचित्यताबारे प्रस्ट पारे ।
कार्यक्रममा सूर्यविनायक नपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात, सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले ल्योसिंगुको सांस्कृतिक महत्वमाथि प्रस्ट पारे । कार्यक्रममा कार्यपालिका सदस्य सरिना द्योलाले पनि बोलेको थियो ।
भक्तपुर नपाका नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सम्पन्न वृक्षारोपण कार्यक्रममा भक्तपुर नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरू तथा चाँगुनारायण नगरपालिका ९ नं. वडा कार्यालय, विभिन्न संघ–संस्थाहरू प्रगति युवा समाज सौडोल, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ कलेज र ख्वप पोलिटेक्निटक इन्स्टिच्युट, देवी मावि र चित्तपोल, ताथलीका स्थानीय जनताहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *