भक्तपुरका नयाँ प्रहरी उपरीक्षक सबिन प्रधानलाई स्वागत

विशेष समाचार समाचार
भक्तपुर, २८ जेठ
भक्तपुर नगरपालिकाले सोमबार महानगरीय प्रहरी परिसर भक्तपुरबाट सरुवा भइ गएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई बिदाइ तथा महानगरीय प्रहरी परिसर भक्तपुरमा सरुवा भइ आएका सबिन प्रधानलाई स्वागत कार्यक्रम सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रहरी उपरीक्षकद्वयलाई भादगाउँले कालो टोपी लगाइदिएर उपरीक्षक श्रेष्ठलाई बिदाइ र उपरीक्षक प्रधानलाई स्वागत गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर भष्टाचारविरोधी आन्दोलनको इतिहास भएको नगर भएको बताउँँदै नगरपालिकाले भक्तपुरलाई शान्ति–सुरक्षाको पनि नमुना नगरको रूपमा विकास गर्ने उद्देश्य रहेको बताए ।
भक्तपुरको संस्कृति संरक्षण र शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले अपराधी तथा हत्याराहरूलाई संरक्षण होइन, कानुनको दायरामा ल्याइनुपर्नेमा जोड दिए ।
बढ्दो जनसंख्या वृद्धिले विभिन्न अपराध घटनामा पनि वृद्धि हुने बताउँदै प्रमुख प्रजापतिले भक्तपुरमा अपराधको संख्या तुलनात्मक रुपमा न्यून रहेको र समाजमा शान्ति स्थापना गर्न प्रहरी प्रशासनको निगरानी अत्यावश्यक भएको बताए ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई सफा, स्वच्छ, सभ्य र सांस्कृतिक नगरको रुपमा विकास गर्न तत्पर रहेको बताउँदै पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने उद्देश्य नगरपालिकाको रहेको बताए ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट सरुवा भइ गएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले भक्तपुर नगरपालिकामा १३ महिना काम गर्दाको अनुभव सुनाउँँदै  नगरमा शान्ति सुरक्षा कायम गर्न भक्तपुर नगरपालिकाको अनुकरणीय भूमिका रहेको बताए ।
भक्तपुरमा सरुवा भइ आएका प्र.उ. सबिन प्रधानले देशको राजधानीसँगै जोडिएको सांस्कृतिक नगर भक्तपुरको शान्ति–सुरक्षा कायम गर्न भक्तपुर नगरपालिकासँग हातेमालो गरी अगाडि बढ्न तत्पर रहेको बताए ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुर शान्ति सुरक्षाका दृष्टिकोणले सुरक्षित जिल्ला भएको बताउनहुुँदै नगरपालिकाका गतिविधिहरूमा  रचनात्मक सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र ७ नं. वडाध्यक्ष उकेश कवांले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *